अनिता धितालको कथा : ‘आभा’

बिहान ४ बजे नै उठेँ।अरुबेला ७ बजेसम्म पनि निद्रा खुल्दैनथ्यो।आमाले चिया ओछ्यानमा नल्याए सम्म बिहान भयो जस्तो नै लाग्दैनथ्यो।तर आज म चाहन्थे चिया लिएर आँउदा म कोठामा नभएर आमा बेस्सरी आत्तिनुहोस्।सबैजनालाई छट्पटी होस्,घरमा रुवाबासी होस्।फोन गर्ने बिकल्प नै बाँकी नरहोस् भनेर मोबाइल कोठामा नै छाडेँ।पशुपति जान्छु,दिनभर त्यही बस्छु अनि साँझमा घर फर्कन्छु भन्ने सोचले पशुपतितिर लागेँ।बस चढ्न मन लागेन,कोटेश्वरबाट पशुपति हिडेर जान पनि उति टाढा छैन जस्तो लाग्यो,फेरि जसरी पनि मलाई दिन बिताउनु थियो ,त्यसैले थकाइ मार्दै 7 बजेतिर पशुपति पुगेँ।

धर्मकर्ममा उस्तो रुचि थिएन र पनि भगवान् को अपमान गरे जस्तो हुने हो कि भनेर ढोग्दै हिडेँ।
हिड्दै अलि माथि पुगेँ जहाँबाट पशुपतिको मुख्य मन्दिर सामुन्ने देखिन्थ्यो।बस्ने ठाउँ धेरै थिएँ तर त्यहाँ एउटि केटि बाहेक चराहरु सम्म पनि थिएनन्।बोलचाल गर्न पाए समय बिताउन सजिलो हुन्छ भनेर उसको नजिकै जस्तो पुगेर म पनि बसेँ।हसिलो अनुहार,कालो कपाल,मान्छे पनि राम्री रहिछे। सामुन्ने तिर हेरिरहेकि थिइ।घरी दायाँ घरी बायाँ मजाले आँखा दौडाउथी।गोरो अनुहारमा काला आँखा..अचम्मै सुहाएको।आधा घण्टा जति बितिसकेको हुँदो हो।ऊ सामुन्ने तिर हेर्ने म उसलाई।त्यति समयसम्म उसले एकपटक पनि मलाई हेरिन।लाग्थ्यो उसले मलाई देखेकी नै छैन।इन्ट्रेस्टिङ क्यारेक्टर लागि।ऊ बसेकै बेञ्चमा सरेँ।

“हेलो”मैले ठुलै स्वरमा भनेँ।
झसङ्ग भई।हजुर भन्दै म तिर मुन्टो फर्काइ।
ऊ पनि एक्लै,म पनि एक्लै।मलाई बोल्न खासै अप्ठ्यारो लागेन।
“के हेरेको त्यसरी?आधा घण्टादेखि हेरेको हेर्यै छौ त।हेर्न लायकको के छ त्यस्तो भन न,म पनि हेरौं।”
तिमी भन्न नै सहज लाग्यो।मैले तिमी नै भनेँ
उसले फेरि सामुन्ने तिर हेर्दै भनी
“हेर्नको निम्ति केही स्पेसल नै हुनुपर्छ भन्ने छ र?हजुरले पनि त आधा घण्टा अगाडि देखि मलाई हेरिरहनु भएको छ नि।मैले केही सोधेँ?”
बाफ्रे!केटि टक्करकी रहिछे।उसको जवाफले
म अलमलमा परेँ अनि हांस्दै जवाफ दिएँ,
“जति सोझो देखिन्छौ नि त्यति रहेनछौं”
“ए! उसो भए कति सोझो छु भनेर पो हेर्नुभएको हो”
उसले मेरो कुरा सकिन नपाउँदै जवाफ फर्काइ अनि म तिर हेरेर मुस्कुराई।
मलाई के भन्नू के भन्नू के भयो।फेरि उसैले भनि
“हजुरलाई यता पहिले देखेको थिइनँ त”
“म आज मात्र आएको यता,मन्दिरमा आएर फर्किहाल्थेँ अरुबेला,आज पशुपतिमा नै दिन बिताउनु छ। त्यसैले सबैतिर डुल्ने “
“किन नि दिन नै यता बिताउन पर्ने”
मुख बिगारेर सोधी
“पशुपतिमा राम्रा राम्रा केटि टोलाउन आउँदा रहेछन्।त्यही भएर”
म जिस्किन चाहेँ
उसले परपट्टी मन्दिरको छानोमा बसिरहेका बाँदरतिर औंलाले इसारा गर्दै भनी,”पशुपतिमा राम्रा राम्रा सुन्दरीहरु पनि आउछन् ।आज धित मर्ने गरि हेरेर जानू “
मलाई बेकार भनेछु जस्तो लाग्यो।कुरा मोड्ने मनसायले भनेँ,”चिनजान गरौं न ल,म सुलभ,सुलभ आचार्य।घर कोटेश्वर,तिम्रो नि?
“म आभा”उसले भनी
“आभा के,पछाडि पनि होला नि त केही?”
“केहि छैन आभा मात्रै”
भन्न खोजिन जस्तो लागेर फेरि सोधिन।म संवादको अन्त्य होस् भन्ने चाहन्नथेँ।केहि न केही नयाँ कुरा त निकाल्नै पर्थ्यो।मैले अलि मलिन भएर भनेँ,”तिमी मनमा धेरै पीडा भएपछि के गर्छौ?”
“केही गर्दिन,चुपचाप बसेपछि पिडा आफैं कम हुन्छ।”
“होला खुब।साथीसंगी बटुलेर बेस्सरी रुने होला केही गर्दिन भनेर मलाई गफ दिन्छौं।”
“हस्!हजुरले भनेको जस्तै,मलाई बहस नै गर्नु छैन।”
उसले फेरि संवाद अन्त्य गरि।केही समयसम्म दुबै चुप बस्यौं।
पहिले म नै बोलेँ,
“कहिलेकाही मनमा कति धेरै बेचैनी हुन्छ है।सम्हालिनै गाह्रो हुनेगरी पीडा हुन्छ।आफूसंग,आफ्नाहरुसंग कति भाग्नु,कतिन्जेल भाग्नु?”
उसले सिधै मेरो आँखामा हेरि।मैले नजर झुकाएँ।सायद देखी।मैले लुकाउन चाहेको वेदना।अनि भनी,
“भाग्ने चाहिँ किन नि?भागेर पीडा कम हुन्छ भनेर कसले भनेको?बरु दुख त बाड्यो भने कम हुन्छ भन्छन् ,यदि चाहनुहुन्छ भने सेयर गर्दा हुन्छ।उसैपनि हामी अपरिचित नै छौ।चिनजान भए पो मैले हजुरको बारेमा नराम्रो सोच्छु कि भन्ने हुनु।यहाँबाट उठेर हिँडेपछि हजुर आफ्नो बाटो,म आफ्नो बाटो।यदि मैले एकैछिन कुरा सुनिदिदाँ हजुरको मन हलुको हुन्छ भने मलाई कुनै प्रबलम छैन।”
मलाई पनि हो जस्तै लाग्यो।
मनको कुण्ठा पोख्न चाहन्थे तर ठाउँ भेटेको थिइन।आभातिर हेरेँ केही सुन्न आतुर भए झैँ गरि मलाई हेरिरहेकी थिइ।

म भन्न थालेँ………..
“हाम्रो चारजनाको परिवार,बुबाआमा,दाइ र म।दाइ क्यानडा हुनुहुन्छ।बुबा सिंहदरबारमा जागिरे।कान्छो छोरो,दुनियाँले हेर्दा मलाइ जति सुख कसलाई होला।बच्चा हुँदा केही लाग्दैन थियो।अब त ठूलो भएँ नि,सानो सानो कुराले पनि चित्त दुख्छ।आमा हरेक बिहान चिया लिएर मेरो कोठामा पस्दै भन्नुहुन्छ,’दाजुको सट्टा पनि भाइ नै सुतेर बस्।दाइ रातदिन नभनी काम गर्छ उता।भोलिपर्सी छुट्टिने बेला दाजुको सम्पत्तिमा चाहिँ हक नखोज्नु नि’
म छक्क पर्छु मेरो निद्रा र दाइको कमाइ यसरी जोड्न जरुरी छ र?
खाना खाने बेला बुबा भन्नुहुन्छ,’मेरा हातगोडा लागुन्जेल त खालास् कान्छा,भोलिपर्सि के पो गर्छ्स्।केही काम गर अब,जवान छोराले बाउको कमाइ खाएको सुहाउँदैन’
खाँदै गरेको गाँस ओकलेर हिडौं जस्तो लाग्छ फेरि बगली छाम्छु मुस्किलले सय रुपियाँ भेटिन्छ,हिम्मत नै आँउदैन…

म बोल्दाबोल्दै रोकिएँ।आभाले एकोहोरो हेरिरहेकी थिइ।लामो सास फेरेर
फेरि बोल्न थालेँ
“अति भएर काम गर्न थालेको थिएँ,एउटा कपडा पसलमा।महिनाको दस हजार दिन्थ्यो।बिहान कलेज गएर दिउँसो काम गर्न त्यति गाह्रो थिएन।तर साथीहरू सधैं जिस्काउथे।दाइ क्यानडा,बाउले त्यति कमाउँछ,
कोहिलाइ त दुख गर्न नि रहर हुने भनेर।वास्तै गर्दिन थिएँ।सबै साथीहरूसंग बिस्तारै टाढा भएँ।तर आमालाई वल्लोपल्लो घरकाले खै के सुनाउँदा रहेछन्।अर्काको पसलमा लुगा बेचेर नबस् भनेर एक महिना गएर काम छाडिदिएँ।
बाइक छ तर पेट्रोल हाल्ने पैसा छैन।बुबाको अगाडि पैसा छैन भनेर उभिन अप्ठ्यारो लाग्छ।
एउटि केटि बच्चादेखि नै औधी मनपर्थी।हिजो प्रपोज गरेको।’दाइ र बुबाको सम्पत्तिमा मोज गर्छौ,आफ्नै कमाइले एउटा गुलाफको फूल किनेर दिने औकात पनि छैन तिम्रो’भनेर फेसबुकमा ब्लक गरि।म सबैको लागि बोझ मात्र भएको छु जस्तो लागेर बिहानै निस्किएको घरबाट,फोन गर्छन् भनेर साथमा मोबाइल पनि बोकिन।जति नै नालायक भए पनि छोरा हुँ आखिर,कहाँ गएछ भन्ने चिन्ता त होला नि”

आभाको आँखाभरी आँसु देखेँ।छक्क पर्दै सोधेँ
“आब्बुइ!तिमी रोएको।हेर म त रोएको छैन।कस्तो पागल तिमी त”
आभाले अर्कोपट्टी फर्किएर आँसु पुस्दै भनी
“बुबाआमा,दाजुभाइ सबैको किस्मतमा हुदैनन्।अरुको देखेर नै चित्त बुझाउने पनि धेरै छन् यो दुनियाँमा।आमा बाले आफ्नो छोराछोरीको लागि राम्रो सोचेर नै गाली गर्ने हो,ताकी चित्त दुखाएर नै सहि असल बाटो हिडुन।जुन कुराले हजुरको मन दुख्छ त्यो कुरा सम्झिनु हुन्छ नै किन?
जे नै भनेपनी हजुरको आमा हरेक बिहान हजुरको निम्ति चिया त ल्याउनु हुन्छ नि,हजुरको बुबाले खाना नै न खा त भन्नू हुन्न होला नि।अनि जहाँसम्म प्रेमको कुरा छ,जरुरी त छैन नि हजुरले मनपराएको,माया गरेको मान्छेले हजुरलाइ पनि उति नै मनपराओस्,माया गरोस्।”

उसको कुरा सुनेर मैले भनेँ,”तिम्रो कुरा सुन्दा लाग्छ,तिम्रो बाआमाले तिमीलाई कहिले केही भन्नुहुन्न।हुन त छोरी मान्छे,अर्काको घर जाने जात भन्छन्।छोरा मान्छेको जस्तो हुन्न नि।तिमीलाई के थाहा।कति नराम्रो लाग्छ।”

उसले एकोहोरो भएर भनी,”सहि भन्नुभयो,मलाई केही थाहा छैन।आमाले गाली गर्दा कस्तो हुन्छ,बाको कचकचले कति नराम्रो लाग्छ।तर हजुरलाई जस्तै नराम्रो बाआमालाई पनि लागोस् भनेर केही नभनी बिहानै हिड्नु भएको त आज?यति ठूलो भइसकेको मान्छेले यस्ता कुरामा चित्त दुखाएर भाग्ने कि सामना गर्ने?
म चुपचाप सुनिरहेँ।ऊ बोलिरहि
“मैले बुझेँ समस्या धेरै छन् तर यसरी घरमा केही नभनी मोबाइल पनि घरमा नै छाडेर यता आउनु गलत हो।हजुर भाग्यमानी हुनुहुन्छ।आफूले पाएको कुराको कदर गर्नुस्।बाआमा,दाइ सबै हजुरका आफ्नै हुन्।”
ब्यागबाट मोबाइल झिकेर मलाई दिदै भनी
“लिनु,फोन गर्नु घरमा।चिन्ता भइरहेको होला”
म अलमल परेँ।गरौं कि नगरौं भयो।
“छिटो न।अनि जाने अब।संगै जाउला परसम्म”
फेरि भनी।मैले मोबाइल समातेँ।अनि आमाको नम्बरमा फोन गरेँ।फोन लाग्न नपाई उठाउनु भयो।उताबाट हेलो भनेपछि मैले भनेँ
“आमा,म सुलभ”
आमाले आत्तिदैँ सोध्नु भयो,”बाबू तँ कहाँ गएको?ठिक त छस् नि।किन मोबाइल छोडेर हिडेको?तेरो सबै साथीहरूलाई फोन गरेँ कसैले थाहा छ भनेनन्।कति पिर यहाँ हामीलाई।”
“हेर्नू न,मोबाइल बिर्सेछु।छिट्टै आउनु पर्ने काम थियो।हजुरहरु निद्रामा नै हुनुहुन्छ होला भनेर उसै आएँ।ठिक छु।चिन्ता लिन पर्दैन।आँउदै छु।”मैले भनेँ
उताबाट आमाले छिट्टै आइजो।खाना बनाएर राख्छु,अनि संगै खाने भन्नुभयो।मैले हस् भनेर फोन राखेँ अनि मोबाइल आभालाई दिएँ।
उसले मुस्कुराउदै भनी,”अब जाने होइन”
“उम हो “म उठेँ।आभा पनि उठि।हामी संगै तल झर्यौ।दुबै चुप थियौं।केही सोचिरहे जस्तो।
मौनता तोड्ने मनसायले मैले भनें
“आभा,तिम्रो घर चाहिँ कता?”
“घर त थाहा छैन,बस्न चाहिँ यहीँ अलि पर बस्ने हो”
मैले मुख बिगार्दै भनेँ,”तिम्रा सबै जवाफ किन यस्ता,जसरी पनि घुमाउन मिल्ने।”
उसले हाँसेर टारी।
पशुपतीबाट निस्कदै गर्दा उसले सोधी,”कहाँबाट बस चढ्नुहुन्छ”
“तिमी जहाँसम्म संगै हुन्छौ त्यही सम्म हिड्ने”मैले भनें,
उसले हुन्छ को इसाराले टाउको हल्लाइ।
गौशालाबाट कोटेश्वर तिर 5 मिनेट जति हिडिँसकेपछि आभाले भनी,”ल है त।म बस्ने ठाउँ त आउन लाग्यो।हजुरको जिन्दगीका सबै समस्या समाधान हुन्।हजुरलाई भेटेर खुशी लाग्यो।”
“आइ नै सकेको भए त तिम्रो घरमा गएर चिया पिएर जाने हो म त”
म भनिसकेर हाँसे।ऊ पनि हाँसी।
मैले फेरि थप्दै भनेँ,”यदि म साँच्चै चिया पिउन गएँ भने बुबाआमालाई म को भनेर चिनाउछौँ?”
उसले केही बोलिन।हाँसिराखी।
एउटा ठूलो घर आयो।उसले घरतिर हेर्दै भनी।अब आयो मेरो त।हजुर राम्ररी जानू।
गेट खोलेर हात हल्लाएर बाइ गरेर भित्र पसि अनि गेट लगाइ।
म हेरेको हेर्यै भएँ।आभा पसेको घरमा ठूला ठूला अक्षरमा लेखिएको थियो,”अनाथ आश्रम”।।।

✍️अनिता धिताल

Leave a Reply

Your email address will not be published. Required fields are marked *