पाँच गजलकारको पाँच गजल

गजल १ ✍️पृथक् हिमाल ओली 
कसैले मुटु माथि प्यार नामको हतियार राख्यो
जिन्दगीले बल्ल जिन्दगीसँग सरोकार राख्यो

आमाको छोरो,छोरीको बाबू हो र दलाल पनि
एउटै मान्छेमा कसले यति धेरै अवतार राख्यो?

बेहिसाब दौडिने समयको खुट्टा भाँचिदिनु छ,
भर्खर भित्रिएको खुसीले यस्तै विचार राख्यो

रंगविहीन चेहरा निस्कियो बैंकको ढोकाबाट
सायद आज धितोमा आफ्नै अनुहार राख्यो

यति छिट्टै गुमनाम हुन्छ सोचेको थिएन होला
आगो निभाउनेले आगोको नाम अङ्गार राख्यो

गजल २ अर्पणा आपागाई अनुराग

प्रेम लिएकै बदलामा प्रेम दिनु पर्दैन
जस्तो नदीले बगेपछी फर्किनु पर्दैन

मुटु चोइटिएर जाँदा पनि बाच्नुपर्छ मित्र
ती आँखाको नानी जादा आत्तिनु पर्दैन

म तिमीलाई जिन्दगी सोचेर बाँचिरहनेछु
तिमीले मलाई आफ्नै हो सम्झिनु पर्दैन

जमीनको झार यसकारण भाग्यमानी हुन्
हुरी चल्दा अग्लो रुखझैं भाचिनु पर्दैन

विवाहकै निम्ति मैले प्रेम गरेको होइन
स्वतन्त्र छौ तिमी बन्धनमा बाधिनु पर्दैन

गजल ३ अदिति अर्याल ज्ञवाली

झुकाउनु परेको छ ठाडो शिर म के गरुँ?
खुशी दिन्छु भन्नेले दियो पीर म के गरुँ?

आँखामा आँसु रोकेर हिँड्छु मुस्कुराई,
देख्न त ठिकै देखिन्छ शरीर म के गरुँ?

घरि उही सम्झिन्छु, घरि उसको घृणा,
हुनै सकेन मन पनि स्थिर म के गरुँ?

तिमी छौ भनेर म आएँ तिम्रो शहरमा,
तिमी पराइ भयौ छैन जागिर म के गरुँ?

कहिले समाज भनेँ कहिले इज्जत भनेँ,
तोड्नै सकिनँ मैले यो जंजिर म के गरुँ?

गजल ४ विमला विकिरण

यहाँ भोकको बिछ्यौना छ अभावको तकिया छ
यो पुजीवादी युग हो हर वस्तुको नाम रुपियाँ छ

लङ्गडो शरीर बोकेर अस्तित्वको लडाइँ गर्दैछु
एकतिर म एक्लो छु,अर्कोतिर सम्पुर्ण दुनियाँ छ

स्वयं अन्यायमा पर्छ न्याय खोज्न गएको मान्छे,
हाम्रो मुलुकको सरकार भित्र पनि माफिया छ!

उसैले बुद्धको रङ दलेर शान्तिको पाठ सिकायो
जसलाई हेर्दा पनि हिटलरको जस्तै हुलिया छ!

उपभोग गरेका छन् आधा बा’ ले आधा सन्तानले
सम्झिनुस् आमाको शरीर जमिन हो, अधियाँ छ!

गजल ५ निशा निराकार

यो नसौचौ बा अामा सामु सधैं रहर पठाउनुपर्छ
सन्तानले पनि त खुसी बन्ने अवसर पठाउनुपर्छ ।।

बुहारीलाई हेला गर्नु अघि सम्झुन सासुहरूले
मेरी छोरी पनि एकदिन पराइघर पठाउनुपर्छ ।।

सम्पत्ति कमाउन नसके पनि गुनासो गर्दिनँ
खुसी हुन्छिन् अामा सन्चै छु खबर पठाउनुपर्छ

सायद यहीँ सोचेर भष्टचार गर्दो हो सरकार
कमाउन त खाडीमा युवाको लस्कर पठाउनुपर्छ ।

कस्तो छ पराइघरमा सोधिरहनुहुन्छ आमा
दुःख लुकाएर मैले खुसी छु उत्तर पठाउनुपर्छ ।।

र यो पनि हेर्नुस –अविनाश सापकोटाका दश मुक्तक

Leave a Reply

Your email address will not be published. Required fields are marked *