साहित्य लेख्नेले समाजको बारेमा पनि बोल्नु पर्छ – गजलकार भेषराज बुढाथोकी

गजलकार भेषराज बुढाथोकी सक्रिय रूपमा साहित्यमा कलम चलाइरहुनु भएको छ। स्कुल लेभलदेखि कविता विधा बाट साहित्यमा प्रवेश गर्नु भएको हो।उहाँले आमाको गाउनु भएको देउडा गीतबाट र उहाँको बुबाको डायरीमा भेटिएका देउडा गीत र केही प्रतिनिधि कविताहरुबाट प्रभावित भएर अक्षर गनेर कविता लेख्नथाल्नु भएको थियो त्यसकारण आफ्नो साहित्यमा लाग्नुको प्रेरणाको स्रोत आमाबुबालाई मान्नुहुन्छ। हाल उहाँले गित ,गजल,मुक्तक,कथा र कविता लेख्नुहुन्छ । स्कुल पढ्दा डोगडी गजल बाटिकाको अध्यक्ष भएर विभिन्न कार्यक्रम संचालन गर्नु भएको थियो।स्कुलको वार्षिक उत्सवमा कविता प्रतियोगितामा द्वितीय हुनु भएको थियोे ।उहाँको गजल,कविता विभिन्न सञ्चारमाध्यमबाट प्रसारण भएको छ भने विभिन्न साहित्यिक पत्रिकामार्फत प्रकाशित भएको छ ।

तपाईं आजभोलि के मा व्यस्त हुनुहुन्छ ?

मेडिकल क्षेत्रको बिद्यार्थी । हाल देश बाहिर छु,यतै पढ्दैछु । समयले भ्याएसम्म फ्याट्टफुट्ट सीर्जना कोरीरहन्छु । यस्तै अध्ययनमै ब्यस्त छु भनौँ न ।

तपाईंको विचारमा साहित्य के हो ? साहित्य सिर्जना के को निम्ति गर्नुहुन्छ ?

साहित्य समाजको ऐना हो । यसले आफ्नो अनुहारमा देश देखाउँछ, समाज देखाउँछ र समाजका कैयौँ अन्तरनिहित कुराहरूलाई यसले प्रस्फुटन गर्छ । मैँले धेरैलाई भन्ने गरेको छु । तपाई एक जना शिक्षित मान्छे हुनुहुन्छ तर तपाई समाजका जल्दाबल्दा घटानाक्रम, समसामयिक बिषयबस्तु, समस्या आदीको बारेमा बोल्नुहुन्न भने तपाई र बाटोको ढुंगामा कुनै फरक हुँदैन । बरू बाटोको ढुंगाले एक पटक मात्रै मन्दिरमा गएर भगवान हुने अबसर पाउन सक्छ भने तपाई बारम्बार मन्दिर गएर पनि ढुंगो भएर फर्किनु हुनेछ । तसर्थ मेरो भनाई यति मात्रै होकी हरेक शिक्षित मान्छेले,हरेक साहित्य लेख्ने मान्छेले समाजको बारेमा बोल्नु पर्छ र लेख्नु पर्छ । म मेरो साहित्य सिर्जनामा कतै न कतै समाज झल्कियोस्, देश देखियोस् भन्ने हेतुले म साहित्य सिर्जना गरिरहन्छु ।

हाल विकास भएको सुचना प्रविधि र यसले नेपाली साहित्यलाई कस्तो प्रभाव पारेको देख्नुहुन्छ ?

हाल बिकसित सूचना प्रविधिले साहित्यिक सिर्जनालाई निकै टेवा पुर्याएको छ । यसले आफू भित्र लुकेर बसेको अन्तरनिहित क्षमता प्रष्फुटन गर्न ठूलो सहयोग गरेको छ । यो एउटा पाटो भयो । अर्को पाटोमा यसले कहिँ न कहीँ समस्या पनि भित्र्याईदिएको छ । जस्तो कपिराईट, अर्काको रचनालाई आफ्नो रचना भन्ने आदी ।

पुरुष लेखक भन्दा महिला लेखकको संख्यामा कमि देखिनु र पुरुष लेखक भन्दा महिला लेखक पछाडी पर्नुको मुख्य कारण के होला ?

मेरो कुराबाट सुरू गर्छु । म कविता लेखेर गजल तिर आएको हुँ । मैँले कविता लेखेको देखेर मेरो बहिनीले पनि कविता लेख्न सिकिछे । उसलाई खुलेर कविता लेख्न मलाई जसरी सहज थिएन । मेरो त उसै पनि पछौटेपन समाज जहाँ महिलाहरूले पुरूषको सिको गर्नुहुन्न भन्ने एउटा भनाई छ । यसलाई चिर्न सक्नुपर्छ । यो एउटा प्रतिनिधी घटना मात्र हो । यस्तै अरू थुप्रै महिला दिदी बहिनीहरू होलान् जो लेखनबाट बञ्चित हुनुहुन्छ होला । तर मलाई अहिले त्यस्तो लाग्दैन । अहिले सबै महिला दिदीबहिनीहरू सक्षम हुनुहुन्छ आफ्नो लेखनमा । अनि अर्को भन्नु पर्ने कुरा चाँही हामीले सिर्जनामा क्वान्टिटी खोज्ने होईन, क्वालिजी खौज्ने हो । यत्ति भनेँ है ।

कतिपयलाई मिडियाले साहित्यकार बनाइदिएको छ भन्छन् नातावाद र कृपावादको प्रभावले साहित्यलाई कस्तो असर पर्ला ?

हजुरले भनेको साँचो पनि हो । अहिले देश यस्तो अवस्थामा छ कि कुनै एउटा संस्थाको गेट पाले हुन पनि शैक्षिक योग्यता तर्फ होईन कि नाताबाद र कृपावाद हाबी भैदिन्छ । देशको राजनीति, कुटनीति, साहित्य, शैक्षीक संघ संस्था,ब्यापारिक संस्था सबै तिर नातावाद कृपाबाद मौलाएको देखिन्छ । अनि अर्को पाटो चाँही नातावाद लादियो,कृपावाद लादियो भनेर मात्रै पुग्दैन । ब्यक्ति आफैमा सक्षम छ कि छैन त्यो जाँच गर्नु पर्छ । ब्यक्ति सक्षम छ तर ऊ कसैको नातेदार हो भने यसलाई नातावाद र कृपावादको दुनोमा राख्नु हुँदैन । भनेँ नि मुख्य कुरा ब्यक्ति र उसको साहित्यिक सिर्जनाको गुणस्तरियतामा भर पर्छ,नातावाद । उम्लिएको दुध चुलोमा एकछिन सम्म पोखिन्छ,एक छिन पछि उ हराएर जान्छ । साउनमा आकाशको बादल एकछिनलाई हो,एकछिनमा घाम लाग्छ । ठिक त्यस्तै नातावाद र कृपावादको साँचो प्रयोग जसले गर्छ,गर्दै आएको छ ऊ एकछिनलाई हो एकछिन पछि हराउने निश्चित छ । चोरबाटोबाट आउने चोरले एकदिन पुलिस भेट्छ नै । त्यस्ता नाताबादीहरू साउनमा उर्लिएको खहरे हुन जुन हिउँदमा सुकीजान्छ । तसर्थ हामी खहरे होईन अविरल बग्ने गण्डकी बनौँ, कोशी कर्णाली बनौँ ।

साहित्यलाई समाजको ऎना मानिन्छ,कस्ता कस्ता विषयवस्तुमा जोड दिने हो भने समाज परिवर्तनको लागि सहयोग पुग्ला ?

हो, साहित्य समाजको ऐना हो । यसले आफ्नो अनुहारमा समाज देखाउँछ, समाजका भित्री पाटाहरू देखाउँछ या अझैँ भनौँ देश देखाउँछ । साहित्यले समाजका हरेक सामाजिक,शैक्षिक, साँस्कृतिक, राजनीतिक आदी हरेक क्षेत्रलाई उठान गर्नु पर्छ । समाजका समस्या, जनताका समस्या, समाज परिवर्तनका आधारभुत आवश्यकता , समसामयिक बिषयबस्तु आदी सबै कुराहरूमा यसले औंला उठाउन सक्नुपर्छ । म त भन्छु साहित्यले प्रेम सम्बन्धी मात्र कुरा उठाउनु हुँदैन । कुनै साहित्यकारले प्रेम सम्बन्धी मात्रै सिर्जना गर्छ भने त्यो अधुरो हुन्छ ।

साहित्यमा दिगो विकासका लागि राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला ?

यो अलि वजनदार प्रश्न आयो । अहिले राज्यबाट ,सरकारबाट अथवा प्रदेश सरकारबाट अथवा स्थानिय सरकारबाट साँस्कृतिक तथा साहित्यिक एवम् खेलकुद क्षेत्रमा बजेट छुट्याउने कुरा आएको छ रे । यो सह्रानिय छ । यसले समग्रमा साहित्यको विकास र बिस्तारमा थप टेवा पुर्याउँछ । राज्यले साहित्य र श्रष्टालाई जोड्ने पूल बन्न सक्नु पर्छ । देशमा ,समाजमा सामाजिक चेतना फैलाउने, चेतना र सञ्चारको सम्बाहक साहित्य हो । तसर्थ राज्यले साहित्यलाई किनारा लाउनु हुँदैन । साहित्यलाई उचित मलजल र गोडमेल राज्यबाट गरियो भने देशमा फेरि देवकोटा,लेखनाथ पौड्याल, भूपीहरू नजन्मेलान् भनेर भन्न सकिन्न ।

आजभोलि नेपाली साहित्यमा आगन्तुक शब्दहरू बढी नै प्रयोग हुने गरेको पाइन्छ यस्तो प्रवृतिले के कस्तो असर पर्न सक्छ ?

आगन्तुक शब्दको प्रयोगलाई अग्रज श्रष्टाहरूले कुन रूपमा लिएका छन् त्यो मलाई थाहा छैन । तर मेरो आँखाले यसमा सकरात्मक र नकरात्मक दुबै पाटो देख्छ । आगन्तुक शब्दको प्रयोगले अरू आमन्त्रित भाषा सम्बन्धी थप ज्ञान दिन्छ । त्यसैले आगन्तुक शब्दले बिदेशी भाषाको बिस्तारमा टेवा पुर्याउँछ । अनि कुनै कुनै परिस्थितिमा आगन्तुक शब्दको प्रयोगले संबादलाई मिठो बनाउँछ जस्तो लाग्छ । अनि अर्को पाटोमा आगन्तुक शब्दहरूको प्रयोगले हाम्रो भाषा मासिँदै जान्छ । हाम्रा भाषिक शब्दहरू लोप हुँदै जान्छन् । यसरी हाम्रो भाषा र शब्दहरू भोलिको पुस्ताका लागि डाईनोसर नहोलान् भनेर भन्न सकिन्न ।यो नकरात्मक पाटो भयो ।

साहित्यको प्रायःजसो सबै विधा विवादित बनेको छ यस्तो अवस्थामा साहित्य क्षेत्रमा रुचि भएकाहरुलाई र साहित्य क्षेत्रमा रुचि हुन चाहनेहरुलाई तपाईंको सुझाव के छ?

उम हो । प्रायः बिधाहरू विवादित छन् । लेख्नेहरूले लेख्दै जाने हो । आफ्ना रचनाहरूलाई थप परिष्कृत गर्दै लेख्ने हो । समस्या र बिबादमा अल्झिने होईन । सके सम्म कम बिबाद आउने गरि अथवा बिबादै नहुने गरि लेख्न सक्नु पर्छ । तसर्थ साहित्यको कलम बोक्नेहरूलाई कलम थप तिखो पारेर आउन म आह्वान गर्न चाहन्छु । साथै तिखो कलममा मसी टन्नै भेरेर आउनुहोला । जोकी कहिल्यै नसकियोस् । युग लेख्नुस, देश लेख्नुस म यहीँ भन्न चाहन्छु ।

र याे पनि हेर्नुस – यसरी राम्रा सिर्जना परेको छायामा छन् – साहित्यकार सुमित्रा सुमि

Leave a Reply

Your email address will not be published. Required fields are marked *