धेरै थोक हो साहित्य मेरा लागि- कवि जीवन खत्री

साहित्यकार जीवन खत्री स्कुल लेभलबाट नै कविता विधाबाट साहित्यमा प्रवेश गर्नु भएको हो ।२०६३ सालदेखि अझ बढी सक्रिय भएर साहित्यका विभिन्न विधामा कलम चलाईरहनु भएको छ ।रेडियो नेपालको मधुवन कार्यक्रम सुनेर प्रभावित भएपछि उहाँलाई साहित्यमा लाग्ने प्रेरणा मिलेको हो ।उहाँले कविता ,गित ,गजल,मुक्तक,हाईकु ,कथा र निबन्ध लेख्नुहुन्छ ।उहाँ मधुवन साहित्य प्रतिष्ठान नेपालको संस्थापक अध्यक्ष हुनुहुन्छ । संस्थापक अध्यक्ष हुदा देशै भर संस्थाको शाखा विस्तार गर्नुभयो ,विभिन्न साहित्य कार्यक्रम गर्नुभयो र नयाँ पुस्तालाई सिक्ने सिकाउने कार्यक्रमको आयोजना गरेर पछिल्लो समयका चर्चित साहित्यकारहरुको साहित्य यात्राको पहिलो खुड्किलो टेक्न सहज वातावरण सिर्जना गरिदिनु भयो ।उहाँ हाल पनि यसै संस्थाको अध्यक्ष हुनुहुन्छ ।राष्ट्रव्यापी कविता प्रतिगिता ,युवा तथा खेलकुद मन्त्रालय २०६९ र अन्तर्राष्ट्रिय कविता महोत्सव ,नेपाल साहित्य प्रतिष्ठान उत्तर अमेरिका सन 2012 गरि एक दर्जन भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नु भएको छ ।उहाँको २०६५ मा “मेरो शिखर टाढा छ” र २०६९ मा “जीवन कसका लागि ” गजल सङ्ग्रह र २०७५ मा “आगोको वर्णमाला” कविता सङ्ग्रह प्रकाशित छन । उनै साहित्यकार जीवन खत्री संग हाम्रा सहकर्मी मनु बिद्रोहीले कुराकानी गर्नुभएको छ .

तपाईं आजभोलि के मा व्यस्त हुनुहुन्छ ?

आगोको वर्णमाला भर्खरै बजारमा पुग्यो । केही पाठकहरूको धारणा सुन्न पढ्न पाउँदै छु । केही कार्यक्रमहरूमा निम्ता आएको छ । समग्रमा आगोको वर्णमालामै केन्द्रित भएर समय बिताई रहेको छु ।

तपाईंको विचारमा साहित्य के हो ? साहित्य सिर्जना के को निम्ति गर्नुहुन्छ ?

मेरो लागि साहित्य धेरैथोक हो । ज्ञान दिने बाआमाजस्तै । धेरै शिक्षाका कुरा सिकाउने गुरूहरूजस्तै । प्रेम गर्ने प्रेमिकाजस्तै । हरेक सुख र दु:खमा साथ नछाड्ने साथीजस्तै । धोका दिने आफन्तजस्तै । अझै धेरै धेरै थोक हो साहित्य मेरा लागि । म जीवनको सर्वोच्च आनन्द पाउन लेख्छु । जब कुनै अप्ठ्यारा सपठ्याराका कुरा हुन्छन्, जब असाध्यै धेर दु:ख वा सुखकै कुरा पनि हुन्छन् म बात मार्न सक्ने भनेको साहित्यमै हो । म यथार्थ लेख्न मन पराउँछु । मैले लेखेका रचनाहरूमा कतै आदर्शका कुरा आईहाले भने पनि त्यो आवश्यकता अनुसार मात्र ह‍ो । जवर्जस्त मन पर्दैन् ।

झन्डै एक दशक पहिले र अहिलेको नेपाली साहित्यमा के भिन्नता देख्नु भएको छ ? अहिलेको नेपाली साहित्यको स्थिती बारे कत्तिको सकारात्मक हुनुहुन्छ ?

एक दशक अघिको साहित्य र आजको साहित्यमा उस्तो ठूलो भिन्नता केही भएको छैन् लेखनका हिसाबले । र फरक नभएकै भन्न पनि सकिन्न । त्यो बेला देशको अवस्था पनि बिकराल थियो । अहिले सङ्लिदै छ । त्यसले साहित्यलाई पनि असर पारेकै हो । क्राफ्टका कुरामा केही अन्तर भएको छ । बौद्धिक पाठक थपिएका छन्, चलेकै लेखकका किताब पनि फ्लप भएका छन् नया लेखकले आफ्नो परिचय स्थापित गरेका छन् । बजारमा केही नया प्रकाशक थपिए । राम्रो लेख्ने नया लेखकले स्थान पाए । लेखकले पारिश्रमिक सहित कार्यक्रममा निम्ता पाउन थाले । अनुवादको काम थपिए । विश्व बजारमा केही पुस्तकहरू अनुदित भएर पुगे । समग्रमा राम्रो हुँदैछ बिस्तारै ।

हाल विकास भएको सुचना प्रविधि र यसले नेपाली साहित्यलाई कस्तो प्रभाव पारेको देख्नुहुन्छ ?

हरेक कुराको राम्रो र नराम्रो कुरा हुन्छ । सूचना प्रविधीले असाध्यै राम्रो भूमिका खेलेको छ । ठूला मिडिया हाउसहरूको एकात्मक दबदबा केही हदसम्म तोडेको छ । प्रतिभा भएका नयाँहरूले आफ्नो प्रतिभा देखाउन पाएका छन् र बनेका छन् सेलिब्रेटी । यो राम्रो कुरा हो । यसलाई सही सदुपयोग गर्नु पर्छ हामीले ।

पुरुष लेखक भन्दा महिला लेखकको संख्यामा कमि देखिनु र पुरुष लेखक भन्दा महिला लेखक पछाडी पर्नुको मुख्य कारण के होला?

यो प्रश्नको उत्तर चाँही सबैभन्दा बढी महिला लेखकहरूलाई नै थाहा हुन्छ । मेरा धारणामा हाम्रो समाज पृतिसतात्मक अवस्थाबाट उठेकै छैन । बिस्तारै परिवर्तन हुँदैछ । केही समय जरुर लाग्छ । तैपनि राम्रो लेखेर आउने थुप्रै महिला लेखकका नामहरू छन् ।

कतिपयलाई मिडियाले साहित्यकार बनाइदिएको छ भन्छन् नातावाद र कृपावादको प्रभावले साहित्यलाई कस्तो असर पर्ला ?

त्यो सत्य हो । तर मिडियाले बनाउँदैमा साहित्कार हुँदैन् । हुने भए लेख्न छोडेर मिडियाकर्मी बने हुन्छ नि त । अथवा मिडियामा कामका अलवा साहित्य लेख्नेहरू थुप्रै लेखकहरू पनि गुमनाम छन् । सत्य कुरा के भने, मिडियाले जनतासामु छिटो पुर्याउँछ लेखकलाई जब पाठकले उसका सृजना मन पराउँछन्, त्यो बाँच्छ जब पाठकले उसका सृजना मन पराउँदैनन् उ सकिन्छ । मतलब राम्रो लेखननै प्रमेख कुरा हो । नातावाद कृपावाद पनि त्यही हो ।

साहित्यलाई समाजको ऎना मानिन्छ,कस्ता कस्ता विषयवस्तुमा जोड दिने हो भने समाज परिवर्तनको लागि सहयोग पुग्ला ?

समाजकै कुरा लेख्ने हो । समाजका विकृति विसंगतिका कुरा उठाएर लेख्ने हो । सल्वार्टन आवाजलाई बाहिर सबैले बुझ्ने गरि लेख्ने हो भने समाज परिवर्तनमा जरुर सहयोग पुग्छ । आफ्नो सृजनाले समाजमा चेतनाको पर्वाह हुने हो भने असम्भव भन्ने कुरा के छ र?

साहित्यमा दिगो विकासका लागि राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला ?

राज्यले धेरै काम गर्न सक्छ । लेखकहरूलाई साहित्य महोत्सव गरीदिने । राम्रा किताबहरू छापिदिने । लेखकहरूलाई वर्गिकरण गरेर तलब भत्ताको ब्यवस्था गरेर उनीहरूलाई निरन्तर लेखिरहने वातावरण बनाईदिने । निश्पक्ष तरिकाले पुरस्कार दिने । सम्मान पाउन योग्यलाई मात्र दिने । निजी साहित्यिक संस्थाहरूसँग सहकार्य गरेर कार्यक्रम गर्ने आदी आदी…।

आजभोलि नेपाली साहित्यमा आगन्तुक शब्दहरू बढी नै प्रयोग हुने गरेको पाइन्छ यस्तो प्रवृतिले के कस्तो असर पर्न सक्छ ?

रियालिटि लेख्ने हो भने जे छ त्यही लेख्ने हो । परिवर्तनलाई नकार्न सकिन्न । कुन समयमा के कस्तो छ अवस्था भनेर बुझ्न पनि त्यही लेख्नु पर्छ । तर फरक लेख्ने बहानामा अनावश्यक र समाजमा प्रयोगनै नहुने आगन्तुक शब्द प्रयोग गर्ने हुँदा चाँही नकाम हुन्छ । ती लेखकहरू आफैँ छाटिन्छन् ।

साहित्यको प्रायःजसो सबै विधा विवादित बनेको छ यस्तो अवस्थामा साहित्य क्षेत्रमा रुचि भएकाहरुलाई र साहित्य क्षेत्रमा रुचि हुन चाहनेहरुलाई तपाईंको सुझाव के छ?

के कुरा विवादित बनेको हो भन्ने कुरामा म स्पष्ट हुन सकिन ।सबै विधाको आफ्नै महत्त्व , शैली र त्यसले बनाएको बाटो छ ।आफ्नो चाहना ,रुचि कता पट्टी हो?आफुलाई के कुराले आकर्षित गर्छ त्यतैको बाटोमा हिड्दा सफलता सफलता पाउने सम्भावना धेरै हुन्छ ।आफुलाई मन परेका देशी विदेशी लेखकहरुको कृतिहरु धेरै भन्दा धेरै अध्ययन गर्नु ,निरन्तर लेख्ने कोसिस गर्नु ,सकारात्मक प्रतिक्रियालाई सहजै ग्रहण गर्नु र लेखनमा जिम्मेवारी बोध गर्नु महत्त्वपूर्ण हुन्छ ।\

कविता सङ्ग्रह “आगोको वर्णमाला” भित्र केके भेटिन्छ ? केका लागि पढ्नुपर्छ ?

धेरै कुरा भेटिन्छ पाठकहरुकोले चाहेका सबै विषयवस्तुमा केन्द्रित कविताहरु पाउनुहुनेछ । पछिल्लो दश वर्षमा समाज,देश ,प्रेम, चेतनामूलक र मैले भोगेका कुराहरूलाई मेरो तर्फबाट मुल्यांकन र कलाको लेप हो ।

अन्त्यमा मैले सोध्न छुटाएको र भन्न मन लागेको कुरा केहि बाकी छ कि?

छुटाउनु भए जस्तो लागेन । भर्खर बजारमा”आगोको वर्णमाला” आएको छ । कविता पारखीहरुमा अनुरोध गर्दछु ,पढिदिनुस र मनमा जे लाग्छ नढाटी प्रतिक्रिया दिनुहोस् म पर्खने छु।मेरा केही धारणाहरु राख्ने अवसरका दिनुभयो त्यसका लागि धन्यवाद ॥

र यो पनि हेर्नुस – साहित्य कुपोषण लागेको बच्चा जस्तै भएको छ – सब्बु सुबेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *