नविना रेग्मीको ५ गजल

१.

गाउँ जानु छ पैसा जुटाउँनु छ अनेक बिचार आउँछ
साथमा बच्चा छन् बाटोमा ठूला ठूला बजार आउँछ

अब नसम्झिनु भनेको छ नदेखिनु भनेको छ उसले
आँखामा पनि खाली उहि मान्छेको अनुहार आउँछ

अभाबै अभाबमा कोहि चोर बने कोहि फटाहा बने
सोच्नु बेकार हो रोजगारी नपाएसम्म सुधार आउँछ

बिश्वास रहेछ, अनुमति रहेछ पैसा भन्दा पनि ठूलो
नभए एकै धर्को सिन्दुरले कसरी अधिकार आउँछ

२.

किन दुखिरहन्छ यो मन पत्तै भएन
जति गरेपनि अवलोकन पत्तै भएन

निकै सुहाउँछ भन्थे हाँसेर बोलेको
यति चाँडै बितेछ बच्पन पत्तै भएन

बाटोको छेउमा किनेरै बनाएको हो
कसरी सक्यो घर आँगन पत्तै भएन

मर्नु पर्दैन भोकले भनेको सुनिन्थ्यो
होसमा थिए कि थिएनन पत्तै भएन

आराम के हो सुख के हो नै नबुझि
सकिदा मजदुरी जिवन पत्तै भएन

३.

घमण्ड नगर यार त्यो ब्यर्थै खेर जान्छ
थाहा छ एकदिन रुप पनि जलेर जान्छ

खै कसले राम्रो छौ भनि दिएछ बिचरा
धेरै जसो दिन उसको एेना हेरेर जान्छ

ऊ कसरी मर्द कहलिएछ यो समाजमा
जसले श्रीमति कुट्न दारु पिएर जान्छ

नभन्नुहोस् त्यो चम्किलो तारा आमा हो
आशै आशमा यो जिन्दगी बितेर जान्छ

कसरी बित्दैछ समय सोध्छन् साथिहरु
समय त दुई सेर नै लेखि नसकेर जान्छ

४.

तिमिलाई पो फेसन अनुसारका लुगा लगाउनु पर्छ
आफ्नो त दशैं आउँनु पर्छ कि अर्को फटाउनु पर्छ

राहत बाडेको देखे पछि यहि बुझेछन् बच्चाहरुले
मिठो खानै भए पनि अब आफ्नै घर जलाउनु पर्छ

कति सजिलो छ माग्नेहरुलाई मागी दिन्छन् भैगो
यहाँ दुई छाक टार्न आधा पेट खाएर अघाउनु पर्छ

केहि गर्नु पर्दैन तिमिले यति गरे पुग्छ सम्झिराख्नु
दुश्मनलाई जलाउँन उसैको अघि मुस्कुराउनु पर्छ

धोका पाएर पिडा भो भन्छौ त्यो पिडा के पिडा?
साच्चै पिडा बुझ्न बस्ने ठाउँमा पिलो आउनु पर्छ

५.

भन्थ्यो खाने बेलुकै सकियो बिहान सकियो
बाँच्दा सधै समस्या मरेछ समाधान सकियो

केहि समय पर्खिए त संबिधान आउने रहेछ
सबै दाइजो सकियो सबै कन्यादान सकियो

नयाँमा नौ पुला गाँस पुरानोमा जगल्टा नास
बा बिते देखि आमाको पनि उखान सकियो

दुई सन्तान ईश्वरको बरदान भन्न थाले छन्
सायद डाडाकाँडा ढाक्ने अभियान सकियो

नबिना रेग्मी
बिराटनगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *