निजगढमा कोरोना संक्रमितको संख्या शुन्य

नवराज चौलागाईं,
निजगढ,०६ आश्विन ।
निजगढमा कोरोना संक्रमितको संख्या शुन्य बनेकोछ । मंगलबार निजगढ नगरपालिकाको अईसोलेसनबाट ४ जना कोरोना संक्रमित डिस्चार्ज भएसंगै निजगढमा कोरोना संक्रमितको संख्या शुन्य भएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताउनुभयो ।

गत आश्विन ४ गते संकलन गरिएको स्वाब परिक्षणमा अईसोलेसनमा रहेका ४ जना सहित ३१ जनाको नतिजा मंगलबार नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख लामाले बताउनुभयो । निजगढमा जम्मा ४७ जना कोरोनाबाट संक्रमित भएकाथिए भने २ जना कोरोना संक्रमितको मृत्यु भएकोथियो । नगरपालिकाले कोरोना नियन्त्रण र रोकथामकालागि लागु गरेको नियम र व्यस्थापन सफल भएका कारण निजगढमा अहिलेसम्म कोरोना नियन्त्रणको अवस्थामा रहेको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले बताउनुभयो ।

मेयर खनालले नगरपालिकाले जारि गरेको नियम पालनामा सम्पूर्ण नगरवासी र व्यवसायीहरुको सहयोगको कारण नगरमा कोरोना नियन्त्रणको अवस्थामा रहेको भन्दै आभार समेत व्यक्त गर्नुभएकोछ । स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,सरसफईकर्मी,कर्मचारी,राजनीतिक दलका प्रतिनिधि लगायत नगरका सरोकारवालाहरुबाट भएको सल्लाह र सहयोगले पनि कोरोना नियन्त्रण गर्न निजगढ नगरपालिका अहिलेको अवस्थासम्म सफल भएको बताउनुभयो । मेयर खनालले कोरोना भाईरस संक्रमणको जोखिम उच्च रहेकाले नगरपालिका लगायत सरोकारवाला निकायले जारि गरेको आवश्यक स्वास्थ्य सम्बन्धि मापदण्डको पालना गर्न नगरवासीहरुलाई आग्रह समेत गर्नुभएकोछ ।

राजनैतिक मनमुटावका कारण केहिले कोरोना भाईरस नियन्त्रण तथा रोकथामको लागि नगरपालिकाले चालेको कदमको निरन्तर विरोध गरेपनि अहिलेसम्म कोरोना नियन्त्रणमा निजगढ नगरपालिका सफल भएको पुष्टि भएको खनालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *