१७ औं धान दिवस र नेपालमा धान दिवसको इतिहास (भिडियो सहित)

वर्षा ऋतुको आगमन संगै छरीको महसुस हुन्छ । किसानहरुको मनमा एउटा अनौठो अनुभूति हुदै गर्दा त्यसैको पेरीफेरीमा आईपुग्छ मुठी रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ । हरेक वर्ष असार १५ मा देशभर राष्ट्रिय धान दिवस मनाइने गरिदै आएको छ ।

राष्ट्रिय धान दिवस नेपाली किसानहरुको महत्वपूर्ण पर्व हो ।रोपाइँ महोत्सव, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता अनेक नामले समेत असार १५ गतेलाई मनाउने हाम्रो पुरानै परम्परा जिवितै छ । नेपाल कृषि प्रधान देश भएकाले यहाँका अधिकांश मानिसको मुख्य पेसा नै खेतीपाती हो । विशेष गरी देशका ग्रामिण क्षेत्रमा असार १५का दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

नेपालमा धान दिवसको इतिहास

नेपालमा हजारौं बर्ष पहिलेबाट धानको खेति हुदै आएको भए पनि आजभन्दा १७ वर्षअघि मात्र नेपाल सरकारले यस दिनलाई औपचारिक रुपमा धान दिवस घोषणा गरेपछि यस दिनलाई धान दिवस वा महोत्सवको रुपमा मनाउन थालेको हो । मनाउने क्रममा हरेक दुरदराजका बस्तिबस्तिमा यसको प्रचारहुदैँ गएपछि त यस दिनले थप चर्चा-परिचर्चा पाएको हो।

सन् २००४ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्रा्ष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । सोहि आधारमा राष्ट्रसङ्घले सो बर्षलाई धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरेपछि  विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो । अर्को महत्वपुर्ण कुरा त के भने यो दिवसलाई राष्ट्रिय रुपमा मनाउने राष्ट्रसङ्घका सदस्य राष्ट्रमध्ये नेपाल मात्र एक हो ।

१७ औ धान दिवस

वि स २०६१ साल देखि असार १५ लाई धान दिवस वा महोत्सव मनाउने सोहि क्रमलाई निरन्तरता दिदैं यो बर्ष पनि १७ औं धान दिवस तथा रोपाई महोत्सव गरी मनाईदै छ । तथापि यो बर्ष पछिल्लो समय  कोभिड-१९ कोरोना भाइरसले नेपालमात्र नभई पुरा विश्व नै आक्रान्त पारेको अबस्थामा केहि खल्लो महसुस किसानहरुले गर्न थालेका छन । कोभिड १९ रोग विश्वव्यापी महामारीको रुपमा फैलिएको तथा नेपालमा पनि यस महामारीको प्रकोप बढ्दै गएको परिस्थितिलाई मध्येनजर गर्दै नेपाल सरकार कृषि तथा पशुपन्छि मन्त्रालय अन्तर्गतको कृषि विभागले राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव,२०७७ संचालन प्रोटोकल नै तयार पारेको छ । कोभिड १९ रोगको जोखिम अवस्थामा समेत कृषि कर्मलाई नियमित नराखे निकट भविष्यमा खाद्य तथा पोषण असुरक्षाको अवस्था आउनसक्ने सम्भावना भएकोले कृषि सम्बन्धी गतिविधीहरु आवश्यक सतर्कता अपनाई नियमित गर्न आवश्यक रहेको उक्त प्रोटोकलमा उल्लेख गरीएको छ । यस वर्ष सिमित मानिसहरुको उपस्थितिमा दिवस मनाउन भनिएको छ । यो बर्षको धान दिवसको नारा धान उत्पादनमा वृद्धिआत्मनिर्भरता र समृद्धि दिईएको छ ।   

धान उत्पादनमा विश्व

धानको उत्पादनको स्थिति विश्वमा नै राम्रो मानिन्छ । विश्वकम रहेका जनसङ्ख्याको आधा अर्थात् करिब साढे तीन अर्ब मानिसहरुको प्रमुख खाना नै चामल हो । मानिसलाई खाद्य तथा पोषणको दृष्टिकोणबाट आवश्यक पर्ने जम्मा क्यालोरी मध्येको २० प्रतिशत क्यालोरि यहि चामल मै पाइन्छ जसको कारण हाल विश्वका ११४ भन्दा बढि मुलुकमा धानको उत्पादन हुदै आएको छ । संसारमा १६ करोड ३२ लाख हेक्टरमा ७४ करोड नौ लाख मेट्रिक टन धान उत्पादन हुन्छ ।विश्वमा धान उत्पादनको हिसाबमा सबैभन्दा बढी धान उत्पादन गर्ने मुलुक चीन हो । यसपछि क्रमशः भारत, इन्डोनेसिया, बङ्गलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान रहेका छन् । त्यस्तै विश्वमा खपत हुदै आएको धानमध्ये  करिब ९० प्रतिशत धान एसियामै उत्पादन हुने गरेको छ भने उत्पादनको आधा एसियामै खपत हुने गरेको छ ।

नेपालमा धानको जातको स्थिति

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अनुसार नेपालमा करिब २ हजार भन्दा धेरै जातको धान पाइने गरेको छ । नेपालमा यति धेरै धानका जात पाइने भएपनि त्यसमध्ये सयौं प्रजाति हराईसकेको छन भने अन्य पनि लोप हुने क्रममा रहेको छन । त्यस्ता जातका अनुवंश बचाउनको लागी नेपाल कृषि अनुसन्धान परिषद्ले जिन वैंकमा करिब २०० भन्दा बढि जातको वंशलाई संरक्षण गरेर राखेको छ भने अन्य केहि जातको वंशलाई अन्तराष्ट्रिय धान अनुसन्धान संस्था इरीको वैंकमा राखेको छ ।

भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *