अली आईपीएल खेल्न पहिलो अमेरिकी बन्दै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फ्रेन्चाईज टिम कोलकत्ता नाइट राईडर्सले अमेरिकाका फास्ट बलर अली खानलाई अनुबन्ध गर्ने भएको छ ।

कोलकत्ताले इंग्ल्यान्डका बलर ह्यारी गर्नीको स्थानमा अलीलाई अनुबन्ध गर्ने भएको हो । गर्नी कुमको चोटका कारण आईपीएल खेल्न नक्सने भएपछि कोलकत्ताले अलीलाई अनुबन्ध गर्ने तयारी गरेको हो ।

कोलकत्ताले अली अनुबन्धबारे औपचारिक केहि बताएको छैन । तर, क्रिकइन्फोले कोलकत्तामा गर्नीलाई २९ वर्षीय अलीले प्रतिस्थापन गर्ने जनाएको छ । उनी अक्सनमा भने बिक्रि भएका थिएनन् ।

कोलकत्तामा अनुबन्धित भएमा अली आईपीएल खेल्न पहिलो अमेरिकी खेलाडी बन्ने छन् । यस्तै अली यस वर्षको आईपीएल खेल्ने दोस्रो एसोसियट राष्ट्रका खेलाडी समेत बन्ने छन् । नेपालका सन्दीप लामिछाने यस अघि दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्दै आएका छन् ।

पाकिस्तानमा जन्मिएका अलीले हालै क्यारेबियन क्रिकेट लिगमा च्याम्पियन टिम ट्रिनबागो नाइट राइडर्सबाट खेलेका थिए । सीपीएलमा उनले ८ खेलमा ८ विकेट लिएका थिए ।

अलीले सन् २०१६ मा ओमानसँग खेल्दै अमेरिकाको राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

कोरोना भाईरसको कारण आईपीएलको १३ औं संस्करण युएईमा आयोजना हुँदैछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ ।

उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्ससँग खेल्नेछ । उद्घाटन खेल सेप्टेम्बर १९ मा अबुधाबीमा हुनेछ ।

दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्ताले मुम्बई इन्डियन्ससँग पहिलो खेल खेल्नेछ ।

यो पनि हेर्नुस – इंग्ल्याण्डले जित्यो टी-२० सिरिज

Leave a Reply

Your email address will not be published. Required fields are marked *