बारा र पर्साका ८ सय ६९ हुरी पीडितहरु सुरक्षित आवासमा

पीडितहरु सुरक्षित आवासमा – गत चैत्र १७ गते आएको हावाहुरीले पीडित बनेका बारा र पर्साका हुरी पीडितले सुरक्षित आवास पाएका छन ।

नेपाली सेनाले निर्माण गरेको सुरक्षित आवास बुधबार कार्यवहाक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं. २ का मुख्यमन्त्री लाललबाबु राउत मार्फत नेपाली सेनाले स्थानिय तहहरुलाई हस्तान्तण गरिएको हो ।

नेपाली सेनाको जनता आवास कार्यदलले निर्माण गरेको घरको स्थलगत निरीक्षण गरी पर्साको वीरगञ्जमा एक कार्यक्रमको आयोजना गरि सुरक्षित आवासको साचो हस्तान्तरण गरिएको हो ।

सेनाले बारामा ८ सय ७ र पर्सामा ६२ वटा घर हुरी पीडितका लागि निर्माण गरेको हो । हुरी प्रभावितका लागि घर निर्माण गर्न बनाईएको जनता आवास कार्यदलको नेतृत्व गरिरहेका नेपाली सेनाका सहायक रथी बिनय बिक्रम राणाले सबै पिडितहरुको घर निर्माण सम्पन्न बताएका छन । उनले दुबै जिल्लाका गरि ८ सय ६९ घरको निर्माण कार्य सम्पन्न भएको बताएका हुन ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ चैत २१ को बैठकले सेनालाई घर निर्माणका लागि जिम्मा दिएको थियो । त्यसको एक महिना पछि गत वैशाख २१ गते उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पोखरेल र उप प्रधानमन्त्री उपेन्द्र यादबसहित केन्द्र सरकारका १० मन्त्री, प्रदेश २ का प्रदेश प्रमुख र मुख्यमन्त्री गरि १२ जनाले बारा र पर्साका विभिन्न १२ स्थानबाट एकै साथ हुरीपीडितको घर निर्माणको शिलान्यास गरेका थिए । त्यस लगतै नेपाली सेनाले घर निर्माणको काम सुरु गरेको थियो ।

सेनाले जनता आवासको डिजाईन अनुसार दुई कोठा एक भान्साघर र एक शौचालयसहितको घर निर्माण गरेकोे हो। सरकारले प्रती घर ५ लाख ४५ हजार ९ सय ५ रुपयाँ ८ पैसाका दरले रकम निकासा गरेको थियो। सोही परिधिभित्र रहेर प्राप्त डिजाईन अनुसार कम लागतमा आकर्षक घर निर्माण गर्ने योजना बनाएको सेनाले सरकारले तोकेको रकममा समेत ११.१९ प्रतिशत बचत गर्न सफल भएको छ। कन्टिन्जेन्सी र निर्माण समाग्रीबाट प्रति घर ६१ हजार ९७ रुपयाँ २५ पैसा बचत भएको कार्यदलका ईन्जिनियर सेनानी महेन्द्र सिजापती थापाले बताउनु भयो । थापाका अनुसार प्रती घर निर्माणमा जम्मा ४ लाख ४ हजार ८ सय ८ रुपयाँ खर्च भएको छ।

हुरीले घरबारबिहिन भएकाहरुको पुनर्वासका लागि बनाएका घरहरु प्राकृतीक प्रकोप प्रतिरोधी र वातावरण मैत्री रहेका सेनाले दाबी गरेको छ । उत्कृष्ट निर्माण सामाग्री प्रयोगबाट प्राकृतीक प्रकोप प्रतिरोधी, वातावरणमैत्री र आकर्षक डिजाईनमा घर निर्माण गरिएको कार्यदलका ईन्जिनियर थापाले बताउनु भयो ।

निर्माण भएका घरहरु भुकम्प र हुरी बतास प्रतिरोधी, अबिरल वर्षाले असर नगर्ने, सजिलै आगो नलाग्ने र तराईको गर्मिबाट नतात्ने किसिमका रहेको भन्दै सेनानी थापाले घरहरुको खपत अवधी ५० बर्ष रहने बताउनु भयो । युपीभिसीका झ्याल ढोका प्रयोग गरेर वन बिनास नहुने र पर्यावरण जोगाउने उद्देश्यका साथ घर निर्माण गरिएको सेनाले जनाएको छ ।

बाराको परवानिपुर, प्रसौनी र फेटा लगायत क्षेत्रका हुरी पीडितका दर्जनौ घर निर्माण हुन बाट छुटेका भन्दै कार्यबाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री पोखरेलको ध्यानाकर्षण समेत गराईएको छ । स्थानिय पीडितहरुको नामावली छुटेको भन्दै स्थानिय पीडितहरु मन्त्रालय पुगेर छुटेका घर निर्माणका बारेमा मन्त्रीसंग छलफल समेत गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वयमा अभिलेख गर्ने क्रममा राजनीतिक पूर्वाग्राही भएर अभिलेखमा नाम छुटाएको भन्दै परवानीपुरका पीडितले आन्दोलन समेत गरेका थिए।

र यो पनि हेर्नुस – बाराको करैयामाई गाउँपालिका खुल्ला दिशा मुक्त गाउँपालिका घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *