बहर र छन्द बिना साहित्य हुन सक्दैन भन्नु गलत हो – पुष्प अधिकारी अञ्जली

गजलकार पुष्प अधिकारी अञ्जली साहित्यका एक उज्ज्वल नक्षेत्र हुन । साहित्यलाई दुई तीन दशक देखि आजसम्म निरन्तरता दिई रहनु भएको छ ।२०४४ सालमा बाल कविता “नेपाल पुकार”मा प्रकाशित भएपछी साहित्य क्षेत्रमा पर्वेश गर्नु भएको थियो ।गजलकार अञ्जली बहुबिधामा कलम चलाउनुहुन्छ । उहाँको “मन भित्रको मन”(२०६१ ) ” स्वप्निल नयन”(२०६४) “चुराको घर”(२०७३ ) र “वाह काठमाडौ(२०७१ ) ” गजल सङ्ग्रह हुन “म कवितामा देश खोजी रहेछु “(२०६९ ) कविता सङ्ग्रह र “जुन फुलेको वस्ती” (२०६५ )र “एक अञ्जुली घाम” (२०६३ )मुक्तक सङ्ग्रह हुन “मनको तृष्णा”(२०७०)हाईकु सङ्ग्रह प्रकाशित भैसकेको छ । नेपाल सरकारबाट भानु दि सत वार्षिकी स्वर्ण पदक प्रशंसाा पत्र तथा देशका विभिन्न साहित्यिक संस्थाहरुबाट गजल साधना सम्मान र गजल बर्षको उत्कृष्ट गजल पुरस्कार गरि तीन चार दर्जन भन्दा धेरै सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नु भएको छ। एक दर्जन भन्दा धेरै चर्चित संयुक्त गजल सङ्ग्रह र हाम्रो मझेरी साहित्य प्रतिष्ठानको साहित्यिक पत्रिकाको सम्पादन गरिसक्नु भएको छ । उनै गजलकार पुष्प अधिकारी अञ्जली संग हाम्रा सहकर्मी मनु बिद्रोहीले कुराकानी गर्नुभएको छ

पुष्प अधिकारी अञ्जलीको एकल संग्रह तथा सम्पादन गरेको कृति

तपाईं आजभोलि के मा व्यस्त हुनुहुन्छ ?

हिजोआज साहित्यिक सम्मेलन गोष्ठी साहित्यिक कार्यक्रमहरुमा व्यस्त छु ।हाम्रो मझेरी साहित्य प्रतिष्ठानबाट प्रकाशित हुने मुखपत्र राष्ट्रिय साहित्यिक पत्रीकाको ५७ औ अंक प्रकाशनको तयारीमा छु र अन्तर्राष्ट्रिय गजल सङ्ग्रह सम्पादनको अन्तिम तयारीमा छु ।

तपाईंको विचारमा साहित्य के हो ?

– साहित्य सामाजिक ,सांस्कृतिक एउटा बिम्ब हो । मन भित्रको अनुभूति अभिव्यक्ती सुन्दर कलात्मक ढंगले प्रस्तुत गर्नु साहित्य हो ।साहित्य समाज र देशका निम्ति अपरिहार्य छ त्यसलाई बुझाउन सक्नु पर्छ। म मेरो कलमबाट सुतेको मान्छेलाई बिउँझाउन चाहान्छु ।

कुन समयमा लेख्ने भावना फुर्छ ? विशेष कुन बिधालाई बढी प्राथमिकता दिनुहुन्छ?

सिर्जना गर्नका निमित्त यहि समय भन्ने हुदैन तर विशेषगरेर एकान्त समयमा लेख्न सकिन्छ । रातको शुन्य समयमा सिर्जना गर्ने गर्छु । मेरो कलम सबै साहित्यिक बिधामा चल्छ तर पनि नेपाली गजल मेरो रुचिको विषय हो ।नेपाली गजल कृतिहरु प्रकाशन र सम्पादन गर्ने सौभाग्य पाएको छु र गजलमै तीस बर्ष देखि समर्पित छु ।

तीन दशकको अनुभवले हेर्दा तीन दशक पहिले र तीन दशक पछि नेपाली साहित्यमा के भिन्नता देख्नु भएको छ? अहिलेको नेपाली साहित्यको स्थिति बारे कत्तिको सकारात्मक हुनुहुन्छ?

तीन दशक पहिलेको नेपाली साहित्य र तीन दशक पछिको साहित्यमा धेरै कुराको अन्तर छ ।हिजो हामी जुन विषयवस्तुमा लेख्थ्यौ आज त्यो विषयवस्तुलाई छलाङ मार्ने खालका थुप्रै अन्य विषयहरु आएको छ र हिजो हामी पुस्तकमा मात्र सिमित हुन्थ्यौ सामाजिक विषयवस्तुमा सिमित थियौ आज नेटवर्किङ संजालबाट थुप्रै विषयवस्तुहरु रिसर्च गर्न सक्छौ पढ्न सक्छौ विश्वलाई साँघुरो बनाएको छ त्यसैले पनि हिजो भन्दा आज धेरै अगाडी छ र विषयवस्तुलाई रुपान्तरण गर्न सक्ने थुप्रै विषयवस्तु छ । नेपाली साहित्यको स्थिति यतिबेला सबल र सक्षम छ । आजको साहित्य धेरै फराकिलो हुँदै गएको छ ।वर्तमान साहित्य देशप्रती ,समाजप्रति र नागरिकहरुप्रती जिम्मेवार भएर लेखिएको हुन्छ ।अहिले नेपाली साहित्यको विभिन्न बिधाहरुको अस्तित्व विस्तारै स्थापित हुँदै गएको छ ।एउटा स्रष्टा लेखनका निमित्त जहिल्यै सकारात्मक दृष्टिले अगाडी बढ्न जरुरी छ ।

छन्द र बहर बिना सिर्जना अपुर्ण हुने हो त ? यस विषयमा के भन्नू हुन्छ ?

छन्द र बहर बिना सिर्जना साहित्य अपुर्ण हुने कुरै हुदैन । हरेक मान्छेको मौलिकता हुन्छ। नेपाली माटो र हवापानीलाई सुहाउने र पाठकलाई पाच्य हुने गहन भाव विचारको उत्कृष्टता र लयात्मक बिम्ब बिधान सिर्जनात्मक स्वरुप हो ।त्यसैबाट हामी अगाडी बढ्नुपर्छ । हाम्रो साहित्य सिर्जनामा स्वतन्त्र विचार गहन कार्यशैली र भाव जरुरी छ । बहर र छन्द बिना सिर्जना र साहित्य हुन सक्दैन भन्ने कुरा गलत दृष्टिकोण हो। यो भ्रम सिर्जना गर्ने कुरा हुन ।

हाल विकास भएको सुचाना प्रविधि र यसले नेपाली साहित्यलाई कस्तो प्रभाव पारेको देख्नुहुन्छ ? _

वर्तमान समयमा धेरै मिडियाहरु प्रभावकारि भएको छ ।यति खेर सामाजिक संन्जाल फेसबुक उत्तिकै प्रभावकारी छ । रचनाहरु सिर्जना हुने बित्तिकै हामी सामाजिक संजालहरुमा मिडिया बाट तत्काल पढ्न सक्छौ । यो आधुनिक युगको विकास हो । यसले साहित्यको संरक्षण र संवर्द्वन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

कतिपयलाई मिडियाले साहित्यकार बनाईदिएको छ भन्छन् नातावाद र कृपावादको प्रभावले नेपाली साहित्यलाई कस्तो असर पर्ला?

कतिपय समय आ- आफ्नो पहुँच भित्र रहन्छ ।मिडियाले नराम्रो सिर्जना गर्ने भर्खरको नवदिप स्रष्टाहरुलाई पनि संस्थाले स्थापित पारिदिन्छ ।हाम्रो समाजको एउटा दुदेश र षित संस्कृति र विकृती पनि हो । राम्रो लेख्ने स्रष्टा कहिल्यै पछाडी भन्ने मान्यता सबैको हुनुपर्छ। साहित्यले समाजलाई सुसंस्कृत बनाउने भएकाले संस्थालाई सम्मान र उचित वातावरण दिनुपर्छ । साहित्य नातावाद कृपावाद र पहुँचको रूपमा अगाडी बढ्यो भने सामाजिक विकृती ल्याउन सक्छ राम्रो मान्छेहरू ओझेलमा पर्न सक्छ । समाज र देशले चाहेको गति साहित्य र भाषा कलाबाट हुन सक्दैन ।

साहित्यलाई नै अंगालेर जिविकोपार्जन गर्न सक्ने अवस्था छ कि छैन ?

वर्तमान समय नेपाली साहित्यका निम्ति लेखेर बाँच्ने संभावना कमै छ । नेपाली पाठकहरुमा अझै पठन संस्कृतिको विकास हुन सकेको छैन ।राज्यले भाषा ,साहित्य ,कला र संस्कृतिको निम्ति दिनुपर्ने सामाजिक संमान,सामाजिक वातावरण अझै न्यायोचित हुन नसकेको कारण स्रष्टाहरुले लेखेर बाँच्ने संभावना छैन। केही स्रष्टाहरुले एकाध रूपमा आफ्ना कृतिहरु राम्रो नाम चलेको पब्लिकेसन्सहरुबाट प्रकाशन गरि प्रचार प्रसार गरेकै भरमा बिक्रीवितरण भए पनि अन्य स्रष्टाहरुले लेखेका कृतिहरु बिक्री नभएको उदाहरण हामिसँग छ ।लेखेर बाच्न सक्ने सम्भावना हुनका लागि अझ केही समय पर्खन पर्ने देखिन्छ ।

साहित्यमा अर्मपर्मको क्रम बढ्दो छ यसले साहित्यिक उपलब्धिको मापनमा कस्तो भूमिका खेल्न सक्ला ?

आजभोलि साहित्यिक क्षेत्रमा देखिएका केही घटना केही अंशहरु छन् नभएका होइनन् । कतिपय साहित्यिक संस्थाहरू एक अर्काका विनिमय गर्छन् सम्मान र पुरस्कार साटासाट गर्छन् यो विषयको लागि एउटा घटना हुन सक्छ तर अरुको सम्मान गर्न जान्नेले आफ्नो सम्मान प्राप्त गर्न सक्ने भएकाले कुनै सम्मानहरु सुसंकृत र सम्मानजनक रूपमा लिन जरुरी छ ।नेपाली समाज नेपाली संस्कृति बढी नकारात्मक छ ।त्यसैले पनि धेरै कुराहरु अमर्यादित हुन सक्दछन ।

साहित्यलाई समाजको ऎना मानिन्छ कस्ताकस्ता विषयवस्तुमा जोड दिने हो भने समाज परिवर्तनको लागि सहयोग पुग्ला ?

साहित्य समाजको दर्पण हो दर्शन हो । सामाजिक ,सांस्कृतिक विभिन्न विषयवस्तुहरुमा यसले एउटा छुट्टै अर्थ राख्दछ । साहित्य विकासको मेरुदण्ड पनि हो।भाषा संस्कृति कला साहित्य बिना देशको मेरुदण्ड भाचिए जस्तै हुन्छ । हामीले लेख्ने सिर्जनाहरु समाज रूपान्तरणका लागि विशेष महत्त्व राख्ने खालको हुनुपर्छ । मेरो कलमबाट समाज देश र सुतेका मान्छेहरु बिउझाउनका लागि लेख्ने गर्छु ।समाज परिवर्तनका निम्ति हरेक स्रष्टाले अब देश लेख्नुपर्छ जीवन लेख्नुपर्छ र समाज परिवर्तन गर्ने काव्यिक चेतनाहरु समाजलाई बाड्नु पर्छ ।

साहित्यमा राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत महसुुस गर्न सकिएला ?

नेपाली साहित्यलाई विश्वसाहित्यको बजार प्रतिस्पर्धा गर्नका निम्ति पनि अब राज्यले केही न केही सोच विचार गर्नु राज्यको दायित्व हो । अब प्रत्येक प्रदेशहरुमा नेपाली भाषासाहित्यका क्षेत्रमा समर्पित हुने स्रष्टाहरुका निम्ति एकेडेमी निर्माण हुनुपर्छ । साहित्यको समुचित विकासका लागि स्रष्टाहरुको मुल्यांकन हुन जरुरी छ । राज्यले स्रष्टाहरुका लागि र साहित्यका लागि विशेष विधानमै आर्थिक विनियोजन गरिदिनुपर्छ ।

आजभोलि नेपाली साहित्यमा आगन्तुक शब्दहरू बढी नै प्रयोग हुने गरेको पाइन्छ यस्तो प्रवृतीले के कस्तो असर पर्न सक्छ ?

हरेकपटक नेपाली भाषा व्याकरणमा समस्याहरु चुनौतिहरु आईरहेको छ हामीले समायोजन गर्दै जाने हो नेपालीहरुले आफ्नो भाषा व्याकरणमा भोग्नुपरेको थुप्रै त्रुटीहरु थुप्रै समस्या पनि छन ।अहिले प्रयोग हुँदै आइरहेको आगन्तुक शब्दहरूबाट स्रष्टाहरु अन्योलमा परेका छन् सहजीकरण गर्न प्रकाशित भाषा व्याकरणका कृतिहरु जरुरी छ । आगन्तुक शब्दहरू प्रयोग धेरै अप्ठ्याराहरु सिर्जना गर्न सक्छन् ।

अन्त्यमा मैले सोध्नु छुटाएको र भन्न मन लागेको कुरा केही बाकी छ कि ?

धेरै धेरै धन्यवाद तपाईंले मलाई मनका केही कुराहरु राख्ने अवसरहरु प्रदान गर्नु भयो धेरै खुसी लाग्यो । मेरा आदरणीय पाठकहरु र मेरा आदरणीय स्रष्टाहरुसँग कुरा राख्ने मौका दिनु भयो । धन्यवाद ।

र यो पनि हेर्नुस – धेरै थोक हो साहित्य मेरा लागि- कवि जीवन खत्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *