बिद्याश्री सिंहको कविता: लोग्नेमान्छे

उ झस्कन्छ
जब बेजोडले शीत भुइँमा पोखिन्छ
तर,
आफू पोखिदा उसले ऎया भन्नू हुँदैन
किनकी उ लोग्ने मान्छे हो
यिनलाई दुख्दैन

राता गुलाफहरुले एकहोरो हेर्दा
उ रातै हुन्छ,
लालीगुराँस ले एक्कैछिन हेर्दापनि
उ लजाउछ
तर,
उसले कसैलाई एकहोरो हेर्नू हुँदैन
किनकी उ लोग्ने मान्छे हो
यिनका नजर अश्लील हुन्छन्

बतासले सुसेल्दा नाचौ भन्छ उ पनि
हावाको स्पर्शले काउकुती लाउछ उसलाई
तर,
उ हास्नु हुँदैन
किनकि उ लोग्नेमान्छे हो
यिनका खुशी जुठा हुन्छन्

हो यस्तै हुन्छन् लोग्नेमान्छे !
लाज बाहेक धेरै लुकाउनु पर्छ यिनले

खिसिक्क हास्न हुँदैन
ठुसुक्क बस्न हुँदैन
धुरुक्क रुन हुँदैन

त्यसैले त
बा को थाप्लोमा नाम्लो कसेर
सन्तानका रहरहरु मच्चिन पाउछन्
किनकि,
बा लोग्ने मान्छे हुन्
यी बलिया हुन्छन्

आमा,
तिमी प्रसव पीडा का दुख धेरै गाउछेउ
योनि च्यात्तिएको कथा धेरै पढाउछेउ
हेरत!
बा का हत्केला कहिल्यै नजोडिने गरि फुटेका छन्
योनि भन्दा हत्केलाका खत
गहिरा हुँदा रहेछन् कहिल्यै नपुरीने

काकी,
तिमी महिनाका पाँच दिन छाउगोठ सर्दा
प्रलय आउँछ,पत्रीकाका छापिन्छ तिम्रो संघर्ष
समाचार बन्छ
हेरत!
काका महिनावारी भएर मरुभूमि नै गीलो बन्छ
अनि केहि शितल बोकेर बर्षका पाँच दिन घरमा बिताउछन्
ठुसठुस गनाउने कमिजको गन्ध कसैले लेखेनन्
बिर्सेछु!
काका लोग्नेमान्छे हुन
यिनले महिनावारी बर्षभरी बार्नुपर्छ
लुकाउनुपर्छ पसिनाको को दाग

दिज्जु,
तिमी गुन्यु च्यात्तिदा लाज सम्झन्छेउ
चोलो फाट्दा लाज सम्झन्छेउ
हेरत!
ती ठुल्दाइ को खुइलिएको तालुमाथी च्यात्तिएकै टोपी उभिएको छ
बिर्सेछु!
उनी लोग्नेमान्छे हुन्
यिनिहरु त च्यातिएकै पैताला माथि उभिएका हुन्छन्

बहिनी,
तिमिले घर छोड्दा
गैरीखेत साथैमा पठाइदियौ
आधी गोठ डोर्याएरै हिड्यौ
हेरत!
कान्छालाई देश छोड्दा पनि ऋण मात्रै बोकेर गयो
बिर्सेछु!
उ पनि लोग्नेमान्छे हो,
यिनका पिठ्युँ ऋण बोक्न बनाइएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *