साहित्यको जात धर्म वर्ण लिङ्ग हुदैन – मन्दिरा मधुश्री

कथाकार तथा गजलकार मन्दिरा मधुश्री साहित्यमा सक्रिय रुपमा कलम चलाइरहनु भएको छ ।अग्रजहरुका कथाबाट प्रभावित भएर कथा विधा बाट साहित्यमा प्रवेश गर्नु भएको हो ।उहाँले कथा ,कविता ,गित ,गजल र हाइकु लेख्नुहुन्छ । उहाँ गुन्जन साहित्य संस्थामा आवद्ध हुनुहुन्छ भने डम्बर कुमारी गणेश कोइराला साहित्य प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ । उक्त संस्था मार्फत डम्बर कुमारी गणेश आख्यान पुरस्कार १५००१ रुपैयाँ राशी वितरण गर्ने व्यवस्था गरिएको छ । आख्यान पुरस्कार प्रत्येक वर्षको जेठ २७ गते पुरस्कार वितरण हुन्छ । उहाँले विभिन्न साहित्यिक संस्थाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नु भएको छ ।बुधनको घोडी(२०७३) कथा संग्रह,मधुराग (२०७६) गजल सङ्ग्रह प्रकाशित भैसकेको छ भने गित सङ्ग्रह र लघुकथा सङ्ग्रह प्रकाशनको तयारीमा रहेको छ ।  उनै कथाकार तथा गजलकार मन्दिरा मधुश्री संग हाम्रा सहकर्मी मनु बिद्रोहीले कुराकानी गर्नुभएको छ ।

१.तपाईं आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

आजभोलि म मधुरागको दोश्रो सस्करणको तयारीमा छु । यसको अलावा मेरो अर्को कृति “आधा पाटो” कथा सङ्ग्रहको पनि अन्तिम सम्पादन गर्दैछु । एउटा बायोग्राफी र एउटा उपन्यास पनि लेख्दैछु ।

२.तपाईंको विचारमा साहित्य के हो ? साहित्य सिर्जना के को निम्ति गर्नुहुन्छ ?

साहित्य अनुभव र अनुभूतिको एउटा ऐना हो जसमा समाज र व्यक्ति छर्लङ्ग देखिन्छ । विचार र भावना अनि अनुभूति र अनुभवलाई साहित्यले उजागर गर्ने मात्र होइन यस्ले समाजको संरचनात्मक ढाँचा तथा अवयवलाई रुपान्तरण पनि गर्न खोजेको हुन्छ । म साहित्य सिर्जना समाज र व्यक्तिको हित होस् भन्ने हेतुका निम्ति गर्छु । साहित्य पढेपछि कुनैपनि व्यक्तिले ज्ञान र सन्तुष्टि एकैसाथ प्राप्त गर्दछ । अनि साहित्य लेख्दा मलाई पनि खुसी र आत्मसन्तुष्टि मिल्छ ।

३.झन्डै एकदशक पहिले र अहिलेको नेपाली साहित्यमा के भिन्नता देख्नु भएको छ ? अहिलेको नेपाली साहित्यको स्थितिबारे कत्तिको सकारात्मक हुनुहुन्छ ?

एक दशक पहिले र अहिले अलिक फरक नै देखिएको छ । पहिलेको तुलनामा अहिले संख्यात्मक रूपमा अत्याधिक साहित्य सिर्जना भैरहेको छ । फेस्बुकको प्रयोगले धेरै मात्रामा नव साहित्यकारलाई सहयोग पुर्याएको छ । पहिले आफ्ना रचना कुनै पत्रिकामा छापिएर आयो भने र पुस्तक निस्केपछि मात्रै प्रतिक्रिया पाउन सकिन्थ्यो भने अहिले लेख्नेबित्तिकै र तुरुन्तै प्रतिक्रिया पाउन सकिन्छ । यो सकारात्मक कुरा हो । अर्कोकुरा अहिलेका साहित्यकारमा पुस्तक प्रकाशनमा मात्रै होडबाजी चलेको छ । फेस्बुके लाइक र कमेन्ट अनि वाहवाहीमा मात्रै मख्ख छन् र लेख्न थालेको एक वर्ष नपुग्दै किताब निकाल्ने हतारो गर्दछ्न् ।साधना र अध्ययन कम छ अहिलेका साहित्यकारमा । त्यसैले गुणस्तरीय सिर्जना कमै भएका छन् यद्यपि सङख्यात्मक रूपमा वृद्धि भएतापनि ।

अहिलेको साहित्यको स्थिति प्रति म सकारात्मक नै छु तापनि मेरो केही कुरामा गुनासो पनि छ । आजभोलि व्यक्तिको सीप र योग्यताको भन्दा पनि नामको बिक्री भैरहेको छ । पैसाको र बिज्ञापनको जमाना छ । पैसा खन्याएर बिज्ञापन गर्न सक्यो भने निम्नस्तरको साहित्य र नामै नसुनिएका साहित्यकार पनि रातारात सेलिब्रेटी बनेका छन् पैसा, बिज्ञापन र चर्चाको अभावमा राम्रा र उच्चस्तरको कृति पनि ओझेलमा परेको देखिन्छ ।

४.हाल विकास भएको सुचना प्रविधि र यसले नेपाली साहित्यलाई कस्तो प्रभाव पारेको देख्नुहुन्छ ?

एकातिर अहिलेको सूचना र प्रविधिले साहित्यलाई प्रत्यक्ष रूपमा सकारात्मक नकारात्मक दुवै प्रभाव पारेको देख्छु म त । अहिले लेख्ने बित्तिकै आफ्नो रचना तुरुन्तै कुनै छापा वा त बिद्धुतिय मिडियामा आइहाल्छ । यस्ले पाठकको संख्या धेरै हुन्छ । धेरैको प्रतिक्रिया तुरुन्तै हुन्छ । साहित्यकारलाई लेख्ने उर्जा मिल्छ । धेरैलाई लेख्न उत्प्रेरित पनि गरेको छ ।हात हातमा मोबाइल छ । थोरै समयमा पनि पढ्न भ्याउँछ्न । किताब किन्नुपर्ने झन्झटबाट मुक्त छन् । तर यसका साथै केही नकारात्मक पक्ष पनि छ । पहिले साहित्यको जुन मूल्य र सम्मान थियो त्यो चाहिँ अलिक घटेको छ । बजारमा आएको एउटा नयाँ किताबको कति उत्सुकताका साथ प्रतीक्षा हुन्थ्यो । कति महत्त्वपूर्ण ठानेर किनिन्थ्यो र घरमा राखिन्थ्यो गर्वले । तर आजकाल त मिडियामा किताब निस्कनु भन्दा पहिले त्यसको सम्पूर्ण रूपमा चर्चा गरिसकेको हुन्छ अनि किताब किनेर राख्ने चासो नै हुदैन कसैलाई पनि ।

५.पुरुष लेखक भन्दा महिला लेखकको संख्यामा कमि देखिनु र पुरुष लेखक भन्दा महिला लेखक पछाडी पर्नुको मुख्य कारण के होला ?

आहा यो प्रश्न सबैभन्दा खट्केको हो मलाई पनि सधैं । हरेक क्षेत्रमा जस्तै साहित्यका क्षेत्रमा पनि पुरुष भन्दा महिला लेखक कम नै छन् । यसको कारण हाम्रो सामाजिक र पारिवारिक संरचना नै हो कि ?हाम्रो समाजले अझैसम्म पनि महिलालाई पूर्ण विश्वास र भरोसा गर्न सकेको छैन ।

लेखनको क्षेत्रमा पनि पुरुषलाई जति स्वतन्त्रता र समर्थन छ त्यतिकै स्वतन्त्रता र समर्थन महिलालाई छैन । पुरुषले जे लेखेपनि वाह वाह जति हुन्छ महिलाले लेखेकोमा अनावश्यक टीका टिप्पणी हुनेगर्छ ।अहिले पनि प्रेम, यौन जस्ता विषयमा कुनै महिलाले लेखे भने बढी हेय र टिका टिप्पणि हुनेगर्छ । यदि कुमार नगरकोटीको शैली र धारमा कुनै महिलाले लेख्ने हो भने
उसलाई गतिछाडा र पतितको रूपमा हेरिन्छ पक्कै पनि ।
अर्को कुरा लेख्नको लागि जति पुरुषलाई वातावरण सहज हुन्छ त्यति महिलाहरुलाई हुन्न ।घर व्यवस्थापन देखि छोराछोरी ,परिवार सबैको जिम्मेवारी अधिकाशंत महिलामा नै हुनेगर्छ । त्यसबाट बचेको समयमा या त निन्द्रा मारेर या त समय चोरेर महिलाले साहित्य लेख्छन् ।
अर्को कुरा परिवारमा महिला लेखक छन भने परिवारका कसैबाट पनि उसलाई लेख्नको लागि सपोर्ट र सहयोग हुँदैन ।यदि पुरुष लेखक छ भने “डु नट मि डिस्टर्ब” भनेर ढोका थुनेर लेख्न बस्छ ।अझ बेलाबेलामा चिया चुरोटको पनि अफर गर्छ श्रीमतीलाई । तर त्यही ठाउँमा महिला लेख्न बसि भने “तातो न छारो तेरो साहित्यले के लछार्छ काम धन्धा छाेडेर बसेकि छ” भन्छन् ।

यसरी लेख्दा पनि पुरुषले विश्वास गर्दैनन् । “महिलाले के नै लेख्छन् र त्यही रुन्चे कथा त होला” भन्ने सम्झन्छ्न र हेयको दृस्टीले बोल्छन् ।

पुरुषहरूको जस्तो कुनैकुरामा महिलाले वहस गर्न पनि पाउँदैँनन । बिहानको चिया गफ, र बेलुकिको सिया गफमा पुरुषहरूको ग्रुप हुन्छ । नयाँ नयाँ विषयमा गफ हुन्छ । छलफल हुन्छ । आफूले लेखेकोमा पनि टिप्पणी हुन्छ । सुझाव हुन्छ अनि लेखनीले पुर्णता पाउछ । तर महिलाको हकमा यस्तो हुनै सक्दैन महिलाको लेखनिको कतैबाट निष्पक्ष र गहन मूल्यांकन नै हुँदैन । प्रकाशकले पनि पुरुषहरूको किताबलाई जति महिलाको किताबलाई प्राथमिकता दिँदैनन् । यस्तै कारणले महिला पछि परेका छन् ।
साहित्य समाजको दर्पण बनेको हुन्छ र आफुलाई सामाजिकरण गर्दै समाजको अव्यवस्थाको चिरफार गरेको हुन्छ ।यो कार्य पुरुषको मात्र होइन महिलाले नि उत्तिकै योगदान पुर्‍याएका हुन्छन भन्नेपुरुषहरूको जस्तो कुनैकुरामा महिलाले वहस गर्न पनि पाउँदैँनन । बिहानको चिया गफ, र बेलुकिको सिया गफमा पुरुषहरूको ग्रुप हुन्छ । नयाँ नयाँ विषयमा गफ हुन्छ । छलफल हुन्छ । आफूले लेखेकोमा पनि टिप्पणी हुन्छ । सुझाव हुन्छ अनि लेखनीले पुर्णता पाउछ । तर महिलाको हकमा यस्तो हुनै सक्दैन महिलाको लेखनिको कतैबाट निष्पक्ष र गहन मूल्यांकन नै हुँदैन । प्रकाशकले पनि पुरुषहरूको किताबलाई जति महिलाको किताबलाई प्राथमिकता दिँदैनन् । यस्तै कारणले महिला पछि परेका छन् ।
साहित्य समाजको दर्पण बनेको हुन्छ र आफुलाई सामाजिकरण गर्दै समाजको अव्यवस्थाको चिरफार गरेको हुन्छ ।यो कार्य पुरुषको मात्र होइन महिलाले नि उत्तिकै योगदान पुर्‍याएका हुन्छन भन्ने बिर्सनु चाहिँ हुन्न ।

६.कतिपयलाई मिडियाले साहित्यकार बनाइदिएको छ भन्छन् नातावाद र कृपावादको प्रभावले साहित्यलाई कस्तो असर पर्ला ?

पक्कै पनि हो । अहिलेका सस्ता अन्लाईन र मिडियाले जे लेखे पनि वाह वाह गरेको छ प्रकाशन गरिदिएको छ । कुनै गहन र स्तरिय होस कि न होस् । नातावाद र कृपा वाद साहित्यमा पनि उत्तिकै हावी छ । यसो दुइचार थान कविता मुक्तक लेख्नेलाई पनि उचालेर कहाँ पुर्याइदिएको हुन्छ । म जत्तिकै अरु कोहि छैन भन्ने दम्भ हुन्छ । अनि मेरो रचना त छापिइहाल्यो नि भन्दै यसैमा मख्ख परेर साहित्यकार पनि “भुइँमा न भाडामा खुट्टा टाँडमा” हुन्छन् । यसले गर्दा साहित्यकारमा गहन लेखनको चेतना आउन्न अनि साधना पनि गर्न खोज्दैनन् कोहि । झारा टराइ मात्रै हुन्छ साहित्य सिर्जना पनि । साहित्यमा पनि गुट उपगुट र राजनैतिक प्रभाव परेको छ्न। अनि अग्रजले नव आगन्तुकलाई समेट्न नसक्नु अनि आफ्ना स्वार्थ सङ्ग साहित्यलाइ जोड्नु र इमान्दारीताको कदर हुन नसक्नु पक्कै पनि उदेक लाग्दा कुरा हुन यस क्षेत्रका ।

७.साहित्यलाई समाजको ऎना मानिन्छ, कस्ता कस्ता विषयवस्तुमा जोड दिने हो भने समाज परिवर्तनको लागि सहयोग पुग्ला ?

निश्चितरूपमा साहित्य समाजको ऐना हो । साहित्यमा समाज छर्लङ्ग नै हुन्छ ।
साहित्यले व्यक्तिमा, समाजमा र राज्यमा नै हुनेगरेका विकृती, विसङ्गती जस्ता बिषयवस्तुलाई मुख्य आधार बनाएर चित्रण गर्ने हो भने पक्कै पनि पाठकका मनमा केही मात्रामा समाज परिवर्तन अवस्य हुन्छ नै ।

८.साहित्यमा दिगो विकासका लागि राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला?

राज्यस्तरबाट पनि साहित्यकालागि अन्य क्षेत्रहरूमा जस्तै प्राथमिकतामा पारेर बजेटको केही भाग रकम छुट्याउनु पर्छ । साहित्यकारको स्तर मुल्यांकन गरेर केही प्रतिशत भत्ता दिनुपर्छ अनि कतिपय साहित्यकार स्तरिय कृतिहरु राज्यकोषबाट नै प्रकाशनको व्यवस्था गरिनुपर्छ । अनि सरकारी स्कुल र कलेजमा राज्यले नै उत्कृष्ट साहित्यका किताब किनेर दिनुपर्छ । यसका साथै राज्यले नै साहित्य सम्बन्धि गोष्ठी, सेमिनार गरिनुपर्छ ।
समाजका विभिन्न जनजाती ठाउँ सम्पदाहरुमा केन्द्रीकृत भएर साहित्य लेख्नको लागि उत्प्रेरित गरिनुपर्छ । उत्कृष्ट साहित्य र साहित्यकारलाई सम्मान र प्रोत्साहन गर्न कुनै गतिलो अन्तरास्ट्रिय स्तरको पुरस्कारको पनि व्यवस्था गर्ने हो भने साहित्यमा पनि थोरै राहत महशुस गर्न सकिएला कि । कुनै पद र प्रतिष्ठा आफ्नालाई मात्र होइन दूर दराजमा रहेका योग्य क्षमतावन व्यक्तिलाई समेट्ने खालको नीति अवलम्बन गरिनुपर्छ।

अर्को कुरा । साहित्यले बाँच्न सिकाउनु नि पर्छ किनकी यो पनि सिकाईको एउटा पाटो हो।आज साहित्य सिर्जना गर्ने व्यक्ति मोफसलमा लेखेर बाँच्न सक्दैन ।राज्यले यस्को संरक्षण गर्ने वातावरण मिलाउने खालकाे नीति तय गर्नुपर्छ।

९.आजभोलि नेपाली साहित्यमा आगन्तुक शब्दहरू बढी नै प्रयोग हुने गरेको पाइन्छ यस्तो प्रवृतिले के कस्तो असर पर्न सक्छ?

विभिन्न भाषाको ज्ञान र बिदेशी शिक्षाले आजभोलि नेपाली साहित्यमा थुप्रै आगन्तुक शब्द प्रयोग भैरहेको पाइन्छ । कतिपय आगन्तुक शब्द चलनचल्तीमा धेरै प्रयोग भएकोले नेपाली शब्दकोशमा राखिन थालिएको पनि पाइन्छ ।
आगन्तुक शब्दको प्रयोगले नेपाली शव्द भण्डार त भरिएला तर नेपाली मौलिक शब्दहरुको प्रयोग लोप हुँदै जान्छ । अनि हाम्रो पहिचान बनेको हाम्रो भाषा ,संस्कृती को कुनै अस्तित्व हुँदैन भोलिका सन्ततिलाई देखाउन ।
उसै त अहिले अङ्ग्रेजी शिक्षाको प्रभावका कारण अहिलेका पुस्ताले नेपाली भाषा करले मात्रै बोल्छन् ।सभ्यताको नाउँमा हामीले हाम्रो मौलिक शब्द र मौलिक वस्तुहरु गाउँमै भुलेर आइसक्यौँ । एकादेशका कथा भैसके हामीलाई ती शब्द र भाषा अनि वस्तु । भोलि हामी भंगेरोको हिँडाइको कथा ( कागको हिडाइको नक्कल गर्दा आफ्नो हिडाइ पनि बिर्सिएर एक पाइलो हिंड्न पनि उफ्रनु परेको) जस्तै हुने त होइन । सोच्नेबेला आएको छ ।

१०. साहित्यको प्रायःजसो सबै विधा विवादित बनेको छ यस्तो अवस्थामा साहित्य क्षेत्रमा रुचि भएकाहरुलाई र साहित्य क्षेत्रमा रुचि हुन चाहनेहरुलाई तपाईंको सुझाव के छ ?

साहित्य सबैको साझा हो यस्को जात धर्म वर्ण लिङ्ग हुदैन र हुनुहुदैन पनि। तर कता कता अहिले यस्का बिकृत स्वरुप नि देखा पर्न थालेका छन।

साहित्यको विभिन्न विधा विवादित बनेको छ । र खासगरी विवाद दुई प्रकारले भैरहेछ । एउटा त बिधागत त्रुटी र कमजोरी भएकै कुरामा र अर्को चाहिँ केही साहियकारहरु आफू सबैको नजरमा पर्न पनि अनावश्यक बितन्डा मच्चाउने गरेको देखिएको छ ।
विधागत त्रुटीमा गरिएको बहस र विवादले त सकारात्मक परिणाम ल्याउला नै तर जरुरत बेगरका अनावश्यक चर्चा र बहसले भने कुनै राम्रो र प्रभावकारी परिणाम ल्याउन सक्दैन । त्यसैले सत्य कुरामा र आवस्यक कुरामा मात्रै बहस र विवाद गरौं जसले सम्पूर्ण साहित्यकारलाई दिगन्त लाभ मिलोस् ।

११.गजल सङ्ग्रह “मधुराग”भित्र केके भेटिन्छ ? पाठकहरुले के का लागि पढ्नुपर्छ ?

“बुधनको घोडी” कथा सङ्ग्रह मेरो प्रहिलो र दोश्रो कृति “मधुराग” गजल सङ्ग्रह हो । “मधुराग” भित्र अत्यन्तै मिठा, सुललित गजलहरु संकलित छन् । बिप्रलम्भ र संभोग शृङ्गारका प्रेमिल गजलहरु छन् जुन पढ्दा पाठकले साच्चिकै आनन्द महशुस गर्नेछ्न् । यसका साथै देश , काल, परिस्थिति, मान्छेका वाध्य्यता सत्यता र यथार्थमा पनि आधारित छ्न धेरै गजल । मधुराग पढेर धेरै पाठकले आनन्दका साथै केही भावमा नयाँपन र मौलिक शब्दपनि भेट्न सक्नेछन् । साँच्चिकै “मधुराग” मधुजस्तै मीठो छ एकपटक अवश्य पढ्नुहोला ।

१२.अन्त्यमा मैले सोध्न छुटाएको र भन्न मन लागेको कुरा केहि बाकी छ कि ?

साहित्यले मान्छेलाई मान्छे भएर बाच्न सिकाउँछ । तनाव र डिप्रेसनबाट बचाउँछ । मान्छेलाई कहिल्यै एक्लो हुन दिँदैन साहित्यले । त्यसैले पनि साहित्यलाई माया गरौं । सकिन्छ साहित्य सिर्जना गरौं सकिन्न भने साहित्य अध्ययन गरौं । अरुथोक किन्न पैसा बचाए जस्तै किताब किन्न पनि अलिकति पैसा उबारौँ ।

र यो पनि हेर्नुस – साहित्यले महिला पुरुष भन्दैन – लेखक रामलाल जोशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *