मानव वस्ती बीचबाट रेलमार्ग बन्ने भएपछी निजगढमा विरोध

नवराज चौलागाईं, निजगढ,२८ पौष । मानव वस्ती बीचबाट रेलमार्ग बन्ने भएपछी निजगढका स्थानीयले सो को विरोध गरेकाछन ।

मेची—महाकाली रेलमार्ग अन्तर्गत निजगढ खण्डमा घना वस्ती रहेको निजगढ बजारको बीचबाट रेलमार्गको ट्रयाक निर्माणकोलागी सर्वे भएपछी स्थानीयले सो को विरोध जनाएकाहुन । रेलमार्गको निजगढ—हेटौडा—भरतपुर खण्ड अन्तर्गतको निजगढ खण्डमा सर्वे गर्ने क्रममा स्थानीयले अवरोध गरेकाहुन । आफुहरुलाई कुनै जानकारी बिनै नीजी जग्गामा ट्रयाक निर्माणकोलागी सिमांकन गरेपछि निजगढ बजार क्षेत्रका स्थानीयले अवरोध गरेसंगै सर्वे गर्ने कार्य तत्कालकोलागी स्थगित भएको रेलमार्गबाट प्रभावित स्थानीय विष्णु खड्काले बताउनुभयो । मेची—महाकाली रेलमार्गको अहिले निजगढ नगरपालिकाको वडा नम्बर ९ संग सिमाना जोडिएको रौतहटको गुजरामाई नगरपालिका क्षेत्रमा ट्रयाक निर्माण कार्य भईरहेकोछ ।

सोहि ट्रयाक अनुसार रेलमार्ग निजगढ नगरपालिका वडा नम्बर ९ हुदै निजगढको घनावस्ती छिचोल्दै अघि बढ्नेछ । रेलमार्गको ट्रयाक निर्माणकोलागी लालबकैया नदीको करिडोर प्रयोग गर्दा उत्तम हुने देखिएपनि रेल बिभागले मानव वस्तीको बीच भागबाट ट्रयाक खोल्नकोलागी सर्वे गरेको भन्दै विरोध गरेको प्रभावित खड्काले जनाउनुभयो । ट्रयाक निर्माणकोलागी सर्वे गर्ने क्षेत्रमा निजगढ नगरपालिकासंग समेत कुनै समन्वय गरिएकोथिएन । यसैक्रममा वडा नम्बर ९ र ८ का स्थानीयहरुले मंगलबार निजगढ नगरपालिकालाई ज्ञापनपत्र पेश गरेकाछन ।

स्थानीय प्रभावितवासी तर्फबाट प्रतिनिधि बिष्णु खड्काले निजगढका मेयर सुरेश कुमार खनाललाई ज्ञापनपत्र हस्तान्तर गर्नुभएकोथियो । मंगलबार निजगढ नगरपालिकाको कार्यालयमा आयोजित रेलमार्गबाट प्रभावित स्थानीय नागरिकहरु र जनप्रतिनिधिहरु बिचको छलफलमा खड्काले प्रभावित वासीहरुको तर्फबाट सो ज्ञापनपत्र पेश गर्नुभएकोहो । ज्ञापनपत्रमा मेची महाकाली रेलमार्ग अन्तर्गत निजगढ—हेटौंडा—भरतपुर खण्डको सर्वे गर्ने क्रममा निजगढ नगरपालिका क्षेत्रको घना वस्ती र बजार क्षेत्रभित्र स्थानीयको घरजग्गा अधिग्रहण हुनेगरी सर्वे भईरहेकोले सो कार्य निजगढ नगरवासिहरुको हितमा नहुने उल्लेख गरिएकोछ । रेलमार्ग निर्माण पश्चात निजगढको बिकासमा थप मद्धत पुग्ने भएपनि घना वस्ती बीच ट्रयाक निर्माण गर्दा थप बिनाश र वाधा अवरोध समेत सृजना हुने ज्ञापनपत्रमा भनिएकोछ । ट्रयाक निर्माणकोलागी लालबकैया नदिको किनारालाई प्रयोगमा ल्याउन सकिने भएपनि नगर भित्रका स्थानीयको घर र उब्जाउ भुमि समेत अधिग्रहण हुनेगरी ट्रयाक निर्माण गर्न लागेकोले सो कार्यप्रति प्रभावित स्थानियहरुको असहमति रहेको र निजगढ नगरपालिकाले नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको रेल विभागसंग समन्वय गरि निजगढ नगरपालिका भित्रको घरजग्गा अधिग्रहण नहुनेगरी लालबकैया नदीको छेउबाट ट्रयाक निर्माणकोलागी ज्ञापनपत्रमा अनुरोध गरिएकोछ ।

छलफलको क्रममा ज्ञापनपत्र ग्रहण गर्दै निजगढका मेयर सुरेश कुमार खनालले रेल बिभागसंग आफुले सो विषयमा कुराकानी गरेको र प्रभावित नागरिक र जनप्रतिनिधिहरुसंग रेल विभागका प्रतिनिधिहरुले छलफल गरेर ट्रयाक निर्माणको आगामी योजना अघि बढाईने बताएको जनाउनुभयो । यदि निजगढ बजार क्षेत्रबाट ट्रयाक निर्माण भएमा निजगढ नगरपालिकाको वडा नम्बर ९ सहित वडा नम्बर ८ र ४ लगायत निजगढ नगरपालिका अन्तर्गत नै पर्ने साविकको रतनपुरी गाविस पनि प्रभावित हुनेछ ।

यसो भएमा सरकारलाई स्थानीयको घरजग्गा अधिग्रहण गर्ने क्रममा अर्वौ रुपैंयाको भार समेत थपिन सक्दछ । तर लालबकैया नदी करिडोर हुदै ट्रयाक निर्माण भएमा स्थानीयको जग्गा अधिग्रहण पनि गर्न नपर्ने र स्थानीयको अवरोध पनि नहुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *