प्रदेश २ सरकारद्वारा संघीय सरकारविरुद्व मुद्दा दर्ता

संघीय सरकारविरुद्व मुद्दा दर्ता – प्रदेश मातहत रहेको वन क्षेत्र केन्द्र सरकारले आफूखुशी कम्पनीमा रुपान्तरण गरेको भन्दै प्रदेश २ सरकारले संघीय सरकारविरुद्व मुद्दा दायर गरेको छ ।

प्रदेश २ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तर्फबाट संघीय सरकारबिरुद्व बिहीबार सर्वाेच्च अदालतमा मुद्दा दायर गरिएको हो ।

संविधानअनुसार प्रदेशको क्षेत्रभित्रको राष्ट्रिय वनको संरक्षण र व्यवस्थापन प्रदेश सरकार मातहत रहे पनि राष्ट्रिय वनको रूपमा रहेकोे सागरनाथ वन विकास परियोजनालाई संघीय सरकारले कम्पनीमा रुपान्तरण गरी आफ्नो मातहतमा राख्न खोजेको भन्दै मन्त्रालयले संघीय सरकारबिरुद्व मुद्दा दर्ता गरेको हो ।

‘प्रदेशको अधिकारलाई संघीय सरकारले पुनः हडप्न खोजेको छ’ प्रदेश २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले भने, ‘प्रदेशभित्रको वनलाई कम्पनीमा रुपान्तरण गरी संघीय सरकारले आफ्नो मातहत ल्याउन खोजेकाले रिट दायर गरिएको छ ।’

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार काठमाडौंलाई विपक्षी बनाएर दायर गरिएको मुद्दामा उत्प्रेषण, प्रतिषेध र परमादेशसमेत माग गरिएको छ ।

उक्त मुद्दामा प्रदेशका मुख्य न्यायाधीवक्ता झाले शुक्रबार बहस गर्ने भएका छन् । झाले अनलाइनखबरसँग भने, ‘प्रदेश सरकारले आफूलाई आधिकारिक पत्र दिएपछि भोली यस बिषयमा बहस गडर्नेछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *