सहकारीको दर्ता नियमन र प्रवद्र्धनमा स्थानीय तह विषयक तालिम सम्पन्न

राष्ट्रिय सहकारी महासंघको आयोजनामा भएको तीन दिने सहकारीको दर्ता नियमन र प्रवद्र्धनमा स्थानीय तह विषयक तालिम २०७६ माघ २२ गते सम्पन्न भएको छ ।

विभिन्न २३ जिल्लाका स्थानीय तहमा सहकारी हेर्ने ३१ जना कर्मचारीहरुको सहभागीता रहेको सो तालिमको समापन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले गर्नुभएको थियो । सो अवसरमा उहाँले सहभागीलाई प्रमाणपत्र र सहकारी अभियानको एकिकृत लोगो प्रदान गर्नुभयो ।

समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष कँडेलले जनतासँग प्रत्यक्ष रुपमा जोडिएका पालिकाका कर्मचारीले सहकारीको विषयमा जानकारी प्राप्त गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकार संचालन ऐन २०७४ ले स्थानीय तहलाई सहकारीको दर्ता, नियमन, अनुमगन प्रवद्र्धनदेखि दर्ता खारेजीसम्मको अधिकार दिएको बताउनुभयो । नेपालमा रहेका करिब ३५ हजार सहकारीमध्ये २९ हजार सहकारी पालिकाको कार्यक्षेत्रभित्र रहेकाले सहकारी अभियानको विकास र विस्तारमा पालिकाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष रमेश पोखरेलले ७६१ वटै सरकारमा छुट्टै सहकारी ऐन निर्माण भएकाले त्यसमा एकरुपता ल्याउन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौडेलले बचत तथा ऋण सहकारीमा चुनौती र सम्भावना दुवै रहेको औल्याउनुभयो । उहाँले स्थानीय तह सहकारीको नियमन गर्ने निकायमात्र नभइ प्रवद्र्धन र संरक्षण गर्ने निकाय पनि भएको बताउनुभयो ।


महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले सहकारी, स्थानीय सरकार र निजी क्षेत्र मिलेर स्थानीय उत्पादनको बजारीकरणका लागि पीपीसी मोडेलमा जान सकिने बताउनुभयो । उहाँले आगामी दिनमा पनि महासंघले नियमित रुपमा स्थानीय तहका कर्मचारीलाई लक्षित गरी तालिम संचालन गर्ने बताउनुभयो । तालिममा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बा, शशि लम्साल, नायव महाप्रबन्धक बाबुल खनाल, नारायण कार्की, विष्णु घिमिरे, चन्द्रबहादुर ठकुरी, रामसुदन तिमल्सिना,प्रमोद पुडासैनीले सहजीकरण गर्नुभएको थियो ।

  • ncf nepal