अविनाश सापकोटाका दश मुक्तक

खुशी बाँड्न आफुहरू पीडामा हुनुहुन्छ
हुन त वहाँहरू पूरानै जमानामा हुनुहुन्छ
अरू भगवान खुशी पार्न मन्दिर जाने गर्छन्,
मेरो भगवान घरमै मेरो बुबाआमा हुनुहुन्छ

न कसैको विश्वास लाग्छ न कसैको भर लाग्छ
विश्वास गर्दैनस् भनि सोध्दा गर्छु भन्न कर लाग्छ
भन्न त आफ्नै ठानेर भन्छु मनका कुरा साथीहरूलाई,
तैपनि सारा दुनियाँलाई सुनाइदिन्छन् कि डर लाग्छ

यसमा कुनै दुइ मत छैन, निश्चय लागिरहनेछ
कैले के हुने हो भन्ने कुराको भय लागिरहनेछ
दुस्मनहरू खुट्टा तान्न नआइपुग्न पनि सक्छन्,
पछाडि धकेल्ने दौडमा खराब समय लागिरहनेछ

घरि वारि अनि घरि पारी कुदिरहन्छ
जिन्दगीको दौड नहारी कुदिरहन्छ
दुस्ख बोकेर सुखको खोजी गरेझैँ ,
गोरेटोमा यौटा थोत्रो सवारी कुदिरहन्छ

बिना फाइदाको कुरामा खटेर अहोरात्र, हुँदैन
जे भनेपनि कथामा बिना स्वार्थको पात्र हुँदैन
गाँस,बास,कपास जस्ता कुरा नि हुन्छन् जीवनमा,
जतिबेलै पनि माया मेरो जीवन भनेर मात्र हुँदैन

संगै हुने मन भए पनि अहिले आउन सक्दिनँ
कस्तो छ मनको हालत भनी बताउन सक्दिनँ
तिमी पो मसंग रिसाएर बाई भनेर निदाइदिन्छौ,
म त तिम्रो यादले एकछिन पनि निदाउन सक्दिनँ

रुन्न भन्दै रुँदै गर्ने अब त बानी जस्तो भयो
सधैँ बगिरहने आँसु नहरको पानी जस्तो भयो
बिलौना गर्दै छटपटिँदै गर्न चाहन्छ बिरक्तिएर ,
तिम्रो काख यो शिरको लागि सिरानी जस्तो भयो

यो माया हो केवल माया, चकचक भन्न मिल्दैन
हुन त माया गर्दैमा तिमीलाई बन्धक भन्न मिल्दैन
तिमी रुँदा म पनि हरेक पटक तिमीसंगै रोएको छु,
म रुँदा तिमीले मेरो आँसुलाई नाटक भन्न मिल्दैन

भन्न त रिसाएको छु, बोल्दिन भन्न कर लाग्छ
तर बोल्दै नबोले पनि माया त बराबर लाग्छ
घुर्की लगाएर उसलाई सताउने मन हो हुन त,
तर रिसैरिसमा छोडेर जान्छिन् कि डर लाग्छ

गन्तव्य एकातिर यात्रा अर्कोतिर भएको कसैले देख्दैन
घर अडिएको देख्छ तर खाँबोमा टेको कसैले देख्दैन
हाँस्दा अतालिएर सोध्न आइपुग्छन्, किन हाँस्यौ भन्दै,
तर यी आँखाबाट धरधरी आँसु बगेको कसैले देख्दैन

र यो पनि हेर्नुस – अर्पणा अनुरागको एक गजल

Leave a Reply

Your email address will not be published. Required fields are marked *