यसरी राम्रा सिर्जना परेको छायामा छन् – साहित्यकार सुमित्रा सुमि

साहित्यकार सुमित्रा सुमि करिब एकदशक भन्दा अघिदेखी साहित्यमा सक्रिय रूपमा कलम चलाई रहनु भएको छ।साहित्य के हो भनेर नबुझ्दै स्कुल लेभलबाटै फुटकर कविताबाट साहित्यमा प्रवेश गर्नु भएतापनि २०६०सालमा त्रीशुली प्रवाहमा “अभिलाषा”शिर्षकको गद्य कविताबाट प्रकाशित भएपछि सिर्जनाले मुर्त रुपमा जन्म लिएको र आजसम्म यो स्थानमा आईपुगेको बताउनुहुन्छ । आफ्नो साहित्यमा लाग्नुको प्रेरणाको स्रोत आफ्नो माता सरस्वती पौडेल ,जिवनका सुखदुःखका पलहरु र धेरै गुरुहरुको प्रत्यक्ष र अप्रत्यक्ष प्रभावलाई मान्नुहुन्छ ।उहाँले गित ,गजल(स्वतन्त्र र बहर),कविता(गद्य र पद्य ) ,मुक्तक,हाईकु र आख्यान विधामा कलम चलाउनु हुन्छ ।साहित्यिक पत्रकार संघ जिल्ला शाखा नुवाकोटको अध्यक्ष ,साहित्य समाज नुवाकोटको उपाध्यक्ष , नुवाकोट साहित्य प्रतिष्ठानको संस्थापक कोषाध्यक्ष हुनुहुन्छ हाल पनि कोषाध्यक्ष र पल्लव साहित्य प्रतिष्ठानको आजिवन सदस्य हुनुहुन्छ। अन्तर मा.वि गायन (२०५८),विश्व नारी नेपाली साहित्य पदक (२०७१),राष्ट्रिय गौरव साहित्य सम्मान (२०१६)भारत ,काजीमान तथा नन्दकुमारी रत्न पुरस्कार( २०७५)र पल्लव राष्ट्रिय साहित्य सम्मान (२०७५)प्राप्त गरिसक्नु भएको छ ।उहाँको संयुक्त कृतिको रूपमा झन्डै दुई दर्जन भन्दा बढी र एकल कृतिको रूपमा गजल सङ्ग्रह “एक्लो कुसुम”(२०६३) ,नदेखिएका स्वपनाहरु(२०७१)र “हास्छु भन्थे जिन्दगीमा ” गजल गित २०७३बजारमा आइसकेको छ र “बुइगल नजिकैको आटलीबाट”कविता सङ्ग्रह ,”आर्तनाद”खण्डकाव्य ,”जीवन साथी “मुक्तक सङ्ग्रह र “मास्टरनि नानी”उपन्यास प्रकाशनको तयारीमा रहेको छ ।

तपाईं आजभोलि के मा व्यस्त हुनुहुन्छ?
अचेल उपन्यास लेखन सँगै साहित्यिक कार्यक्रम ,यात्रा र भेटघाट मै व्यस्त छु ।

तपाईंको विचारमा साहित्य के हो?साहित्य सिर्जना के को निम्ति गर्नुहुन्छ?
साहित्य देखेका भोगेका कुराहरुको एउटा जिवन्त प्रस्तुति हो ।म आफ्नो आत्म सन्तुष्टिको लागि लेख्छु ।

झन्डै एकदशक पहिले रअहिलेको नेपाली साहित्यमा के भिन्नता देख्नु भएको छ?अहिलेको नेपाली साहित्यको स्थितिको बारेमा कत्तिको सकारात्मक हुनुहुन्छ?
एक दशक अगाडिको भन्दा अहिले परिणात्मक रूपमा साहित्यले विकासको फड्को मारेको जस्तो देखिए तापनि गुणात्मक रूपमा अझ तल खसेको जस्तो लाग्छ । मान्छे सहि र गलतको भन्दा पनि लहैलहैमा र तालीको पछाडी दौडिएको छ ।मान्छेले वाह वाहीको पछाडि दौडिएर के सहि के गलत छुट्याउन नसकेको हो कि जस्तो लाग्छ ।अझै राम्रा सिर्जना परेको छायामा छन् ।साहित्यमा सबैको रुचि देखिनु खुसिको कुरा हो तर विवादात्मक रूपमा साहित्यको हर विधा अगाडी बढेको छ यस कारणले गर्दा दुख लाग्छ ।साहित्यको हर विधामा सबैको आ-आफ्नो धारणा र मत भिन्नताले नव सर्जकहरु अलमल्ल परेका छन ।निष्कर्ष आएको छैन ।

हाल विकास भएको सुचना प्रविधि र यसले नेपाली साहित्यलाई कस्तो प्रभाव पारेको देख्नुहुन्छ?
सबै कुराको सकारात्मक र नकारात्मक पक्ष हुन्छ्न नै सूचना प्रविधिले कतिलाई फाइदा पुर्याएको छ कतिलाई बेफाइदा पुर्याएको छ ।जान्नेलाई श्रीखन्ड नजान्नेलाई खुर्पाको बिड भएको पाइन्छ ।

पुरुष लेखक भन्दा महिला लेखकको संख्यामा कमि देख्नु र पुरुष लेखक भन्दा महिला लेखक पछाडी पर्नुको मुख्य कारण के होला?
महिला लेखकहरु बिशेष गरि घरायसी कामकाजमा व्यस्त हुने भएकाले साहित्यमा रुचि भएर पनि निरन्तरता दिन नसकेकोले पछि परेको हुन । तर म महिला लेखक हुँ पुरुष भन्दा पछाडी परेको छु जस्तो लाग्दैन मेरो लेखाइ कमजोर बलियो फरक कुरा हो ।

लाईक ,कमेन्ट र सेयरको आधारमा सिर्जना पुरस्कृत गरिन्छ यस्तो प्रक्रियाले उत्कृष्ट सिर्जनाको छनोट हुन सक्ला त? यस्तो प्रक्रिया तपाईंलाई कस्तो लाग्छ ?
लाईक,कमेन्टको भरमा पुरस्कृत गरिनु राम्रो होइन यस्तो प्रवृतिले प्रतिभावान व्यक्ति पछाडी पर्न सक्छ ।

कतिपयलाई मिडियाले साहित्यकार बनाइदिएको छ भन्छन् नातावाद र कृपावादको प्रभावले साहित्यलाई कस्तो असर पर्ला ?
नाता र कृपावाद मात्रै हो भने साहित्य अर्थ हिन हुन्छ ।अरुले बोकेको कुकुरले हरिण मार्दैन भन्छन् नि त्यस्तै हो ।नातावाद र कृपावादले साहित्यकार बनेकाहरु बोक्ने मान्छे नभएसि भुइँमा पछारिन्छ र पछि केहि पनि गर्न सक्दैन ।

साहित्यलाई समाजको ऎना मानिन्छ,कस्ता कस्ता विषयवस्तुमा जोड दिने हो भने समाज परिवर्तनको लागि सहयोग पुग्ला ?
साहित्यले समाजको हर कुरालाई ऎनाले जस्तै प्रतिबिम्बित गर्न सक्छ ।त्यसैले साहित्यलाई समाजको ऎना मान्न सकिन्छ ।लेखेर मात्रै समाज परिवर्तन गर्न त गाह्रै छ ।लेख्नु सँगै लेखेका कुराहरूलाई व्यवहारमा उतारेर समाजिक चेतना फैलाउने खालको रचनाले समाज परिवर्तनमा सहयोग पुर्याउछ ।

साहित्यमा राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत माहसुस गर्न सकिएला?
स्तरीय रचनाहरु छनोट गरेर प्रकाशन गरिदिने ,सम्मान पुरस्कारको व्यवस्था गर्ने र ठाँउ ठाँउ कुना काप्चामा साहित्य लेखनको अभियान चलाउने ,गुणस्तरीय लेखकहरु उत्पादन गर्नमा राज्यले जोड दिनुपर्छ ।

आजभोलि नेपाली साहित्यमा आगन्तुक शब्दहरू बढी नै प्रयोग हुने गरेको पाइन्छ यस्तो प्रवृतिले के कस्तो असर पर्न सक्छ?
नेपाली भाषा नै संस्कृतबाट आएको हो अरु भाषा प्रयोग हुनु के अचम्म भो र? साहित्यमा नवीन प्रयोग भनेर बुझे हुन्छ ।अन्यथा आगन्तुक शब्दलाई जसले सिक्यो, जान्यो उसैले प्रयोग गर्‍यो सकियो ।

अन्त्यमा मैले सोध्न छुटाएको र भन्न मन लागेको कुरा केहि बाकी छ कि?
यसरी आफ्ना कुराहरु राख्ने अवसर दिनु भयो यसका लागि हार्दिक आभारी छु ।हजुरहरुको उन्नति प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

र याे पनि हेर्नुस – साहित्यमा समयचेत हुन्छ – कवि नरेन्द्र कुमार नगरकोटि

Leave a Reply

Your email address will not be published. Required fields are marked *