साहित्य समाजको चित्रण गर्ने माध्यम हो – सुनिता सापकोटा

गजलकार सुनिता सापकोटा साहित्यमा सक्रिय रूपमा कलम चलाइरहनु भएको छ ।स्कुलमा हुने अतिरिक्त क्रियाकलापहरु र शिक्षक , शिक्षिका र दर्शकहरुको प्रतिक्रियाबाट प्रभावित भएर गित विधाबाट साहित्यमा प्रवेश गर्नु भएको हो।उहाँले गित,गजल,कविता र मुक्तक लेख्नुहुन्छ।गजल सङ्ग्रह “एकदिन” र “उषा”खण्डकाव्य प्रकाशित भैसकेको छ । उनै गजलकार सुनिता सापकोटा हाम्रा सहकर्मी मनु बिद्रोहीले कुराकानी गर्नुभएको छ ।

तपाईं आजभोलि के मा व्यस्त हुनुहुन्छ?

म विद्यार्थी हुँ, त्यसैले आजभोलि पढाइमा व्यस्त छु।

तपाईंको विचारमा साहित्य के हो?साहित्य सिर्जना के को निम्ति गर्नुहुन्छ ?

मेरो विचारमा साहित्य भनेको मनको भाव ,समाजको चित्रण गर्ने माध्यम हो। साहित्य एउटा रस हो जसले विभिन्न रसका माध्यमबाट मान्छेलाई आनन्द दिएको हुन्छ। साहित्य सिर्जना गर्नुको पहिलो कारण आफ्नो रहर हो। दोस्रो कारण समाज र देश सुधार गर्नु, साहित्यका माध्यमबाट चेतना फैलाउनु , नेपाली साहित्यको क्षेत्र अझ बिकसित बनाउनु हो।

हाल विकास भएको सुचना प्रविधि र यसले नेपाली साहित्यलाई कस्तो प्रभाव पारेको देख्नुहुन्छ?

हाल विकास भएको प्रविधिले एकातिर कपि राइटलाइ बढाएको छ भने अर्कोतिर लेखनलाई पनि सहयोग गरेको छ, सिक्ने सिकाउने माध्यम सजिलो बनाएको छ, तुरुन्त पृष्ठपोषण पाइन्छ। पाठक बढेका छन् , साहित्यप्रती रुचि राख्ने मान्छे बढेका छन् । हरेक कुराको राम्रो र नराम्रो पक्ष हुन्छन्, यसको पनि केहि नराम्रा पक्ष भएता पनि साहित्यलाइ अगाडि बढाउन थप टेवा पुगेको छ।

पुरुष लेखक भन्दा महिला लेखकको संख्यामा कमि देखिनु र पुरुष लेखक भन्दा महिला लेखक पछाडी पर्नुको मुख्य कारण के होला ?

पुरुष लेखकभन्दा महिला लेखको सङ्ख्या कमि हुनुमा महिलाहरु घरायसी बाताबरणबाट बाहिर आउन नसक्नु, आइहाले पनि पुरुष लेखकहरुको नकारात्मक हेराइ र कुरा गराइबाट सिर्जनशिलतामा आँच आउनु, महिलाको सिर्जना भन्दा सुन्दरताको प्रशंसा हुनु, घरमा छोरीलाई बाहिर निस्कने र कुनै कार्यक्रममा जानबाट बन्चित गरिनु, घरपरिवारको साथ नहुनु, लेखनको लागि समय नहुनु, बिबाह अगाडि लेख्दै आएको भए पनि बिहे पछी श्रीमाले साथ नदिनु, साहित्य छोड्न दबाब दिनु, अझ साहित्यकारकै श्रीमतीहरु लेख्ने हुनुहुन्छ भने उहाँहरु झन् पीडित हुनुहुन्छ , उहाँहरुलाई कुनै कार्यक्रममा जान नदिइनु, यस्तै कारणहरु हुन् ।

सुनिता सापकोटा


कतिपयलाई मिडियाले साहित्यकार बनाइदिएको छ भन्छन् नातावाद र कृपावादको प्रभावले साहित्यलाई कस्तो असर पर्ला ?

ठिक हो, मिडियाले नातावादको कारण विज्ञापन बढी गर्छ, यसको कारण राम्रो लेख्नेहरु छायामा छन् , नराम्रो लेख्नेहरु चर्चामा।

साहित्यलाई समाजको ऎना मानिन्छ,कस्ता कस्ता विषयवस्तुमा जोड दिने हो भने समाज परिवर्तनको लागि सहयोग पुग्ला ?

समाजमा भएका विकृती र विसंगति प्रती व्यङ्ग्य र त्यसको निराकरण गर्ने सन्देश बोकेको, सामाजिक चेतनामूलक हुनुपर्छ ।

साहित्यमा दिगो विकासका लागि राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला?

एउटा राम्रो लेखकले लेखेर आफ्नो जिविकोपार्जन गर्न सकोस् । राज्यबाट त्यस्ता व्यक्तिको सम्मान होस् ।

आजभोलि नेपाली साहित्यमा आगन्तुक शब्दहरू बढी नै प्रयोग हुने गरेको पाइन्छ यस्तो प्रवृतिले के कस्तो असर पर्न सक्छ?

आगन्तुक शब्द बढी प्रयोग गर्नाले साहित्यको मीठासमा कमि आउँछ , हाम्रा झर्रा नेपाली शब्दको लोप हुँदै जान्छ । नयाँ सिकारुले पनि त्यस्तै सिको गर्ने हुँदा यसलाई रोक्नु नै उचित हुन्छ।

साहित्यको प्रायःजसो सबै विधा विवादित बनेको छ यस्तो अवस्थामा साहित्य क्षेत्रमा रुचि भएकाहरुलाई र साहित्य क्षेत्रमा रुचि हुन चाहनेहरुलाई तपाईंको सुझाव के छ ?

विवाद गर्नु भनेको क्रान्ति हुनु पनि हो, विवाद गरेर विवाद मै नछोड्नुस् त्यसको समाधान गर्नुस्, हरेक का मत मतान्तरहरु सुन्नुहोस् र उचित मत अनुसार विवाद निर्मूल पार्नुस्। हरेक विधामा विवाद मात्रै हुने हो भने त साहित्य माथी उठ्न सक्दैन । त्यसैले अनावश्यक विवाद गर्नु ठिक होइन ।आफू स्वतन्त्र भएर लेख्नुहोस्, कुनै पनि विवादमा जानू आवश्यक छैन ।

अन्त्यमा मैले सोध्न छुटाएको र भन्न मन लागेको कुरा केहि बाकी छ कि ?

नेपाली साहित्यमा मान्छेको होइन सिर्जनाको सम्मान होस् , नारी पुरुष दुबैलाइ साहित्यमा अगाडि बढाऊँ,। साहित्यको नाममा नकारात्मक टिकाटिप्पणी नफैल्याऊ, साहित्य समाजको मार्गदर्शक बन्न सकोस् । कुनै पनि साहित्यकारको नकारात्मक हेराई नहोस् कसैप्रती।नेपाली साहित्य अझै धेरै फस्टाउँदै जावस्, शुभकामना ।

र याे पनि हेर्नुस – साहित्य लेख्नेले समाजको बारेमा पनि बोल्नु पर्छ – गजलकार भेषराज बुढाथोकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *