श्रीमतीले नै श्रीमान हत्याको सुपारी दिएपछि….

हत्याको सुपारी दिएपछि – बर्दिबास नगरपालिका–३ मा श्रीमतीले नै पेसेवर अपराधीमार्फत् आफ्नै श्रीमानको हत्या गराएको खुलासा प्रहरीले गरेको छ। गौरिडाँडाका ३६ वर्षे सरोज भनिने श्रवन थापालाई श्रीमती पूजा थापाले सुपारी दिएर हत्या गराएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

सरोजको शव असार ३१ गते बीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासस्थित स्मृति पार्क नजिकै फेला परेको थियो। पूजाले बहिनीमार्फत् पेसेवर अपराधी बोलाएर श्रीमानको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। 

टाउको पछाडि ढुङ्गाले हिर्काएर सरोजको हत्या गरिएको पोष्टमार्टमले देखाएको छ। हत्या आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। सर्लाही धनकौल गाउँपालिका–३ हरकटवाका प्रमोद सिंह, वडा–२ का मुकेश साह, रौतहटको गढीमाई नगरपालिका–६ बखरीका जिला भनिने श्रीनारायण महरा र टिआई सहनी पक्राउ परेको एसपी अधिकारीले बताए। 

श्रीमानको हत्या गराउन पूजाले साढे ४ लाख सुपारी बुझाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। सरोजको हत्यामा करिब एक दर्जनविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएका छन्। आरोपी पूजा भने फरार छिन्।

केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौं, प्रदेश प्रहरी, जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय बर्दिबास सहितका प्रहरी टोलीले महिना दिनदेखि सरोज  हत्याको अनुसन्धान गरिरहेका थिए ।

  • फोटो र समाचार अन्नपूर्ण पोस्टबाट

र यो पनि हेर्नुस – प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

Leave a Reply

Your email address will not be published. Required fields are marked *